नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले टंगालस्थित भाटभटेनी सुपरमार्केटलाई सोमबार (वैशाख १५) जरिवाना गराएको थियो।
उक्त सुपरमार्केटले टेकुस्थित काष्ठमण्डप खाद्य उद्योग प्रालिबाट आपूर्ति गरिएको २५० ग्रामको लाखमरी प्याकेटमा बढी मूल्य लिएको भन्दै जरिवाना गरिएको थियो।
सो विषयमा भाटभटेनिले आफ्नो गल्ति नभएको स्पष्टोक्ति दिएको छ।
भाटभटेनीले काष्ठमण्डप खाद्य उद्योगबाट लामो समयदेखि नेवार समुदायमा माग हुने लाखमरीलगायत सामान किनेर आफ्ना आउटलेटमार्फत बिक्री गर्दै आएको छ।
यसले आफ्ना आउटलेटमार्फत बिक्री हुने हरेक सामानको मूल्य र स्टकको हिसाबकिताब राख्न बारकोड प्रयोग गर्दै आएको छ।
तर, लकडाउनका कारण भाटभटेनिले बारकोडको स्टिकर टाँस्ने जिम्मा सामान आपूर्तिकर्ता काष्ठमाण्डप खाद्य उद्योगलाई नै दिएको बताएको छ।
‘उक्त उद्योगले पनि लकडाउनकै कारण सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको ५० वटा लाखमरी प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको जानकारी गराएको छ’,भाटभटेनिले भनेको छ।
सोही बारकोड भाटभटेनिको बारकोड रिडरले पहिचान गर्दा कम्प्युटर प्रणालीमा बढी मूल्य देखिन गई विभागले जरिवाना गरेको बताइएको छ।
‘प्राविधिक र कानुनी रुपमा यो गल्ती नै हो भन्ने स्वीकार पनि गर्दछौं। तर यो उपभोक्ता ठग्ने अथवा गलत बाटोबाट पैसा कमाउने नियतले नभएको हामी प्रस्ट पार्न चाहन्छौं।’
काठाडौंको नेवार समुदायमा लोकप्रिय एवं उनीहरुका विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वहरुमा आवश्यक पर्ने वस्तु भएकाले उनीहरुको माग र भावनालाई सम्बोधन गर्नका लागि मात्र यस्ता वस्तुहरु बिक्री गर्ने गरको भाटभटेनिले बताएको छ।
भाटभटेनीका हरेक आउटलेटमार्फत बिक्री हुने वस्तुहरु अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा कम मूल्यमै पाइने उसको दाबी छ।
साथै अत्यावश्यक खाद्य सामग्रीहरु बजारको भन्दा कम मूल्यमै भाटभटेनिको स्टोरमार्फत बिक्री भइरहको पनि जानकारी गराएको छ।
हरेक स्टोरहरुबाट बिक्री हुने वस्तुको मूल्यको ग्यारेन्टी दिने भाटभटेनिको भनाइ छ।
एक लाख ५० हजारभन्दा बढी फरक मूल्यका वस्तुमध्ये एउटा वस्तुमा मानवीय त्रुटीले गल्ती देखिएको घटनालाई आधार मानेर भाटभटेनीलाई अन्यथा नठान्न भाटभटेनीले उपभोक्तामा अनुरोध गरेको छ।