अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउनको मोडालिटीबारे गम्भीर विचार गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरकारसमक्ष माग राखेको छ।
लकडाउन मात्र गरेर समय खेर फालिरहेको आभास निजी क्षेत्रलाई हुन थालेको महासंघले बताएको छ।
लकडाउनको अवधिमा मुलुकले निकै ठूलो क्षती व्यहोरेको र कूल गार्हस्थ उत्पादनमा करिव ४ प्रतिशतको आर्थिक नोक्सानी भइसकेको छ।
लाखौ मानिसहरू बेरोजगार भएका छन्, उद्योग व्यवसाय थला पर्न थालेका छन् र मानिसहरूको न्यूनतम बाँच्ने आधार समेत कमजोर बन्दै छ।
यस्तो अवस्थामा लकडाउनको समयसिमा बढाउँदा सरोकारवालाहरू समेतको राय सल्लाह लिनुपर्नेमा त्यसो नगरी पुन जेष्ठ ३२ गतेसम्म अवधि थप गरिएको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ।
पुनःलकडाउनको अवधि बढाइदा मुलुकको अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका सरोकारवालाहरूसंग पनि प्रत्यक्ष संवाद हुनुपर्ने महासंघको धारणा छ।
आम श्रमजीवी मजदूर, साना एवं मझौला व्यवसायी लगायत आम नागरिकको जीवन निर्वाहसम्म गर्न नसक्ने अवस्थामा पुगेको यथार्थतालाई
विश्लेषण गरी उद्योग व्यवसाय संचालनमा सहजता ल्याउन र लकडाउनको थप अवधिमा पुनःविचार गर्न महासंघ जोडदार माग गरेको छ।
कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन विश्वका अधिकांश देशहरूले लकडाउनको उपायहरू अवलम्वन गर्दै आएको र नेपालमा पनि गत चैत ११ गतेदेखि निरन्तर लकडाउन जारी रहेको छ।