विभिन्न परियोजनाका लागि १ खर्ब ८५ अर्ब ४३ करोड विदेशी लगानी स्वीकृत भएको छ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले उक्त लगानी स्वीकृत गरेको हो।
पाँच जलविद्युत र २ सिमेन्ट परियोजनामा यो लगानी स्वीकृत भएको बोर्डले जानकारी दिएको छ।
बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै ३२७ मेगावाट क्षमताको अपर मर्स्याङ्दी-२ परियोजनाका लागि ७८ अर्ब ६५ करोड, ४२.९ मेगावाट क्षमताको अंखु खोला जलविद्युतका लागि ६ अर्ब ३० करोड, ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युतका लागि १० अर्ब ३१ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको जानकारी दिएको छ।
त्यस्तै इशुवा खोला जलविद्युत (९७.२मेगावाट)का लागि १३ अर्ब ५७ करोड र कालीगण्डकी गर्ज(१६४ मेगावाट )का लागि २८ अर्ब ६ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ।
त्यस्तै बोर्डले दुई सिमेन्ट उद्योगका लागि पनि विदेशी लगानी स्वीकृत गरेको छ। दाङ सिमेन्ट इन्डष्ट्रिजका लागि ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट इन्डष्ट्रिजका लागि १५ अर्ब ५ करोड लगानी स्वीकृत गरेको छ।
यसका साथै बोर्डले २० मेगावाटको स्टोरेज क्षमतासहितका दुई छुट्टै आयोजना गरी १२५ मेगावाट क्षमताको सौर्य उर्जा परियोजनाको सर्वेक्षण गर्न दिने निर्णय गरेको छ। रेजन इनर्जी सिंगापुर जेभीले यस्तो अनुमति पाएको छ।
यसअघि सर्वेक्षणको अनुमति पाएर परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन पेस गर्ने समयसीमा पाएकालाई समयावधि थप गर्ने बोर्डले निर्णय गरेको छ। बोर्डका अनुसार चाइना-नेपाल फ्रेन्डसीप इन्डष्ट्रियल पार्क दमक, मुक्तिनाथ केवलकार,मल्टीनेशनल लजिस्टिक पार्क र प्राइभेट फ्रेट टर्मिनल एन्ड बल्क ह्यान्डलिङ फ्यासिलिटिज परियोजनाले थप समय पाउने भएका छन्।