बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर वस्नेतले खुल्नेवित्तिकै हवाई भाडा घट्ने दाबी गरेका छन्।
कोभिड १९ पछिको अवस्थामा सुरु हुने व्यावसायिक उडानमा केही प्रक्रिया तथा लागत घटेपनि पुराना तथा ठूलो हिस्साको लागत घट्ने भएकाले यात्रुहरुले त्यसको लाभ लिने उनको भनाइ छ।
हवाई इन्धनको मूल्य घटेको, कर्मचारीको भत्ता तथा तलबमा केही कटौति भएका कारण भाडा पनि घट्ने उनले जानकारी दिए।
'हामीले यसअघि नै पुरानो भाडाको तुलनामा घटाएर सार्वजनिक पनि गरिसकेका छौ। अब उडान खुल्दा यात्रुहरुले सस्तो भाडामा यात्रा गर्न पाउछन्। बुद्ध एयरले यो ग्यारेन्टी गर्छ' उनले भने।
नयाँ अवस्थामा उडानको प्रक्रिया केही लामो हुने छ। यसबाट दिनमा एउटा जहाजबाट हुने अधिकतम उडानको संख्या घट्ने छ। त्यस्तै कोरोना भाइरस संक्रमण न्यूनीकरण गर्नका लागि नियमित गर्नुपर्ने डिसइन्फेक्सन गर्नुपर्दा नयाँ लागत भने थपिएको छ।
एयरलाइन्सको सञ्चालन लागतमा ४० प्रतिशत इन्धनको भाग हुन्छ। त्यसपछि अन्य व्यवस्थापकीय खर्च हुन्छ। इन्धनको मूल्य पछिल्लो समय घटेको छ। त्यस्तै इन्धन खपतको बचतबाट लागत झनै घट्ने छ। कोरोना अघिको अवस्थामा जहाजहरु आकाशमा होल्ड हुन्थे। जसबाट इन्धन खपत धेरै हुनेगरेको थियो। तर अब त्यस्तो होल्ड हुने अवस्था नआउने हुनाले भाडा घट्ने वस्नेतको भनाइ छ।
नेपालमा लकडाउन लागू भएपछि चैत ११ गतेदेखि व्यावसायिक उडान बन्द भएको छ। सरकारले संक्रमण न्यूनीकरण हुँदै गएपछि उडान खोल्ने तयारी गरेको छ।