विभिन्न सामाजिक संजालमा हुने 'घृणा फैलाउने अभिव्यक्ति'का विरूद्ध दबाब दिने उदेश्यले विश्वको नम्बर एक पेय कम्पनी कोका कोलाले सामाजिक संजालहरूमा ३० दिन सम्म कुनै पनि प्रकारको विज्ञापन नदिने बताएको छ।
निर्णयको घोषणापछि कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जेम्स क्विन्सीले भने, 'संसारमा नश्लवादका लागि कुनै ठाउँ छैन र सामाजिक संजालमा पनि नश्लवादलाई कुनै स्थान छैन।'
उनले सामाजिक संजाल कम्पनीहरूसँग धेरैभन्दा धेरै जवाफदेहीता र पारदर्शिताको माग गरेका छन्।
कोका कोलाको यो घोषणा फेसबुकले कुनै पनि समाचारको महत्वका अनुसार पोस्टलाई खतरनाक वा भ्रामक घोषित गर्ने बताएपछि आएको हो।
फेसबुकका संस्थापक मार्क जुकरवर्गले 'विभिन्न नस्ल, राष्ट्रीयता, धर्म, जाति, लिङ वा आप्रवासी'का लागि खतरा हुने विज्ञापनलाई समेत प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।
'नाफाका लागि घृणा बन्द गर'(#StopHateforProfit) अभियानका आयोजकहरूले फेसबुकमाथि घृणा भरिएका सन्देश र गलत सूचना नरोकेको आरोप लगाउँदै आएका छन्। उनीहरूले कम संख्यामा भएका परिवर्तनले समस्याको समाधान गर्न नसक्ने बताउँदै आएका छन्।
यस ह्यासट्यागको समर्थनमा ९० भन्दा बढी कम्पनीहरूले आफ्नो विज्ञापन रोकिसकेका छन्।
यध्यपी कोका कोलाले आफूहरूले विज्ञापन स्थगीत गर्नुको मतलब यस अभियानको समर्थन भने नभएको बताएको छ।
क्विन्सीले सामाजिक संजालमा विज्ञापन रोकेको आफ्नो कम्पनीले आफ्नो विज्ञापन नीतिमाथि पनि पुनर्विचार गर्ने बताएका छन्।
कपडा कम्पनीले पनि गर्यो घोषणा
जुकरवर्गको घोषणा पछि कपडा लेवी स्ट्रस एण्ड कम्पनीले फेसबुकमा गर्दै आएको विज्ञापन रोकेको जनाएको छ। कोका कोलाको विपरीत यो कम्पनीले भने फेसबुकले गर्नुपर्नेजति काम नगरेको आरोप लगाएको छ।
कम्पनीका सिएमओ जेन सेले भने, 'हामीले फेसबुकलाई निर्णायक परिवर्तन गर्ने वाचा गर्न भनेका छौं।'
'हामी गलत सूचना र घृणाले भरिएको भाषालाई खत्तम गर्ने दिशामा सार्थक प्रगति भएको हेर्न चाहन्छौं। मतदातालाई प्रभावित गर्ने खालका राजनीतिक विज्ञापन र सामाग्रीसँग राम्रो तरिकासँग जुध्नेबारेमा हामी प्रगति भएको हेर्न चाहन्छौं। हामी यस दिशामा फेसबुकले उठाएको उल्लेख्य कदमको प्रशंसा गर्छौं तर यो पर्याप्त भने छैन', उनले भने।
के माग गरिएको छ फेसबुकसँग?
'नाफाका लागि घृणा बन्द गर' अभियानले यसमा कुनै पनि परिवर्तन प्रमाणित नभएको जनाएको छ।
'फेसबुकले यस्तो गरेको हामीले पहिला पनि देखिसकेका छौं। उसले पहिला पनि माफी मागेको हो। आफ्नो ठाँउको माध्यमबाट कुनै ठूलो घटना घटाउन भूमिका निभाएपछि फेसबुकले केही साना कदम उठाएको थियो, अब यो बन्द नै हुनुपर्छ', अभियानले भनेको छ।
जुकरवर्गसँग घृणा फैलाउने सामग्री रोक्न थप कदम उठाउन भनिएको छ। साथै आफ्नो कम्पनीमा स्थायी नागरिक अधिकारको आधारभूत संरचना स्थापना गर्न भनेको छ।
यो अभियानले खास परिचय बोकेका व्यक्तिको विरूद्ध हुने घृणा र गलत सूचनाको फेसबुकले स्वतन्त्र जाँच गर्नुपर्ने माग राखेको छ। उसले यस्ता सामग्री प्रकाशित गर्ने सार्वजनिक र निजी समूहलाई खोजेर हटाउनुपर्ने माग पनि फेसबुकसमक्ष गरेको छ।
उजुरीहरू हेर्नका लागि विशेषज्ञहरूको एउटा समूह बनाउनुपर्ने उसको माग छ।