बतास अर्गनाइजेशन अन्तर्गतको बतास एडब्राइट तथा भाटभटेनी सुपर मार्केटबीच ब्राण्डिङ सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार भाटभटेनी सुपर मार्केटका देशभरका सम्पूर्ण स्टोरमा अब बतास एडब्राइटमार्फत ब्रान्डिङ हुनेछ ।
साउन १ देखि यो सम्झौता लागू हुने छ।
सम्झौतापत्रमा बतास अर्गनाइजेसनका तर्फबाट बतास एडब्राइटका अध्यक्ष ओशिन बतास र भाटभटेनी सुपर मार्केटका तर्फबाट प्रबन्ध निर्देशक कल्याण गुरुङले हस्ताक्षर गरेका छन्।
बतास एडब्राइटले भाटभटेनीका सबै आउटलेटमा समय तालिकाअनुसार नेपालमा पहिलोपटक पटक पप–अप बिक्री केन्द्र स्थापना गर्ने भएको छ। त्यस्तो केन्द्रबाट उपभोक्ताले विभिन्न प्रकारका छुटका साथै विभिन्न कम्पनीहरुको स्टक क्लियरेन्स बिक्रीबाट प्रत्यक्ष फाइदा लिन सक्नेछन् । यसका साथै अन्तर्राष्ट्रिय स्तरका कस्मेटिक ब्राण्डका फ्रि सेम्पलिङ डेमो स्टल पनि राखिने बतास अर्गनाइजेसन द्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
नयाँ सहकार्यबाट किनमेलमा उपभोक्ताका लागि नयाँ अनुभव प्राप्त गर्ने दुवै पक्षले विश्वास लिएका छन्। भाटभटेनीका विभिन्न स्टोरमा दैनिक ७२ हजारले भ्रमण गर्ने र त्यसमध्ये औषत ३५ हजारले किनमेल गर्ने गरेको तथ्यांक छ ।
गुणस्तरीय उत्पादनसँगै बजारीकरणबाटै ब्राण्ड स्थापित हुने विश्वव्यापी मान्यताबाट फाइदा उठाउन नेपाली उत्पादक र बिक्रेताका लागि यो सम्झौताले राम्रो अवसर सिर्जना हुने बतास एडब्राइटका अध्यक्ष ओशिन बतासले बताएकी छन्।