क्वालिटी पेपर इण्डष्ट्रिज प्रालिले कागज उत्पादन गर्ने भएको छ।
१ अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले केही दिनमै प्याकेजिङ (कार्टुन) उत्पादन गर्दैछ । त्यसपछि कागज (क्राफ्ट पेपर) उत्पादन गर्नेछ। २ वर्ष पहिले भरतपुर–३ बेलचोकमा स्थापना भएको उद्योगको कारखाना मध्यबिन्दु–१० अरुणखोलामा छ।
उद्योगका प्रबन्धक निर्देशक राजन पियाले क्वालिटी ब्राण्डका कागज केही दिनमै बजारमा आउने बताए।
उनका अनुसार उद्योगमा नेपालमै पहिलो पटक अत्याधुनिक युरोपियन प्रविधिका उपकरण जडान भएका छन्।
४ जना युवाले प्रभु बैंक लिमिटेडसँगको सहकार्यमा उद्योगमा लगानी गरेको उनले बताए।
‘कागजमा नेपाल परनिर्भर छ’, उनले भने, ‘कागजमा आत्मनिर्भर बनाउन केही भूमिका पुग्ने विश्वास लिएका छौं।’
दैनिक १ सय ५० टन कागजजन्य फोहोर संकलन गरी प्रशोधन गरेर १ सय २० टन नयाँ कागज उत्पादन गर्ने योजना रहेको बताए।
उनका अनुसार ३ महिनापछि लेख्ने र प्रिन्टिङ गर्ने कागज पनि उत्पादन हुनेछ।
उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले स्वदेशी कच्चा पदार्थ नै प्रयोग गरी गुणस्तरीय कागज बनाइने बताए।
उद्योग १५ विघा क्षेत्रफलमा फैलिएको छ। सरकारले निजी क्षेत्रलाई हस्तान्तरण गरेको देशकै ठूलो कागज कारखाना भृकुटी कागज कारखाना केही वर्षयता बन्द छ।
नेपालमा क्राफ्ट पेपर उत्पादन गर्ने उद्योग क्वालिटीसमेत पाँच वटा पुगेका छन्।
तीमध्ये भैरहवामा रहेको एउटा कागज उद्योग हाल बन्द छ।
विराटनगरमा दुई र वीरगञ्जमा एक वटा उद्योग सञ्चालनमा रहेको गुप्ता बताउँछन्।
उनका अनुसार नेपालमा प्रतिमहिना एक हजार टन क्राफ्ट पेपर भारतबाट आयात हुँदै आएको छ। यो परिमाण कुल स्वदेशी मागको ६० प्रतिशत हो।