खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ।
हरेक वर्ष सर्वसुलभ रुपमा विक्री गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसी/बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो।
यो दशैंका लागि १४ सय च्याङ्ग्रा र १६ सय खसी/बोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका योजना विभाग प्रमुख शर्मिला सुवेदीले बताइन्।
खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले विगत वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका ल्याउने गरेको छ।
च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ। यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ। गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो।
कति संख्यामा खरिद गर्ने भन्ने एकीन भएपनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उनले बताइन्।
संस्थानले विगत वर्षहरु जस्तै यो वर्षपनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि विक्रि गर्ने भएको छ। यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उनले बताइन्। कहिलेबाट कहाँ कहाँ यस्ता पसल सञ्चालन हुने भन्नेबारे भने कम्पनीले अहिलेसम्म निर्क्यौल गरिसकेको छैन।
आफ्नै आउटलेटसहित अन्य स्थानमा सुपथ मुल्य सपल सञ्चालन गरिने सुवेदीले बताइन्। संस्थानले हरेक वर्ष दशैं, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ।