संयुक्त राष्ट्रसंघले २०२० का लागि तय गरेको पर्यटन र ग्रामीण विकासको नारामा आधारित भइ तनहुँको बन्दिपुरमा बिश्व पर्यटन दिवस मनाइएको छ।
बन्दिपुरका पर्यटन सँग सम्बन्धित संघ संस्थाहरुका आयोजनामा सम्पन्न कार्यक्रममा पर्यटन व्यवसायीका समस्या र गाउँपालिकाले चाल्ने कदमहरुका बारेमा छलफल गरिएको छ।
एग्रो टुरिजम र पौराणिक महत्वका गन्तव्यको विकास गरी बन्दिपुरको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिका तत्पर रहेको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले बताए।
कोभिड १९ ले उत्पन्न गरेको विषम परिस्थितिमा व्यवसायीका समस्या सम्बोधन गरेर काम गर्ने थापाको भनाइ छ।
नेपाल सरकार अन्तर्गतका विभिन्न निकायले तोकेको स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर व्यवसाय सन्चालन गर्न व्यवसायीलाई आग्रह गर्दै आगामी दिनमा पर्यटन क्षेत्रको उत्थानमा योजना ल्याइ व्यवसायीहरुलाई सहयोग गर्ने बन्दिपुर गाउँपालिकाको उपाध्यक्ष करुणा गुरुङले बताइन्।
पछिल्लो दुई बर्षमा बन्दिपुर गाउँपालिकामा दुई दर्जन बैंक थपिएको तर अहिले पर्यटन व्यवसायलाई लगानी नगरेकोले तनहुँ उद्योग बाणिज्य संघ बन्दिपुर बजार इकाइका अध्यक्ष बैँस गुरुङले दुखेसो पोखे।
कोभिड १९ सँग लड्न होटल ब्यवसायी सँग सुरक्षा सावधानीका सामग्री किन्ने समेत गाह्रो भएको अवस्थामा बैंकको किस्ता तिर्न झन समस्या परेको बन्दिपुर पर्यटन बिकास समितिको कोषाध्यक्ष फूलमती थापाले बताइन्।
लघुबित्तहरुले ब्याज मात्र तिर्छु भन्दा पनि किस्ता नै तिर्न बाध्य बनाई होम स्टे संचालकहरुलाई मानसिक तनावमा पारेको बन्दिपुर सामुदायिक होम स्टेको अध्यक्ष दिलकुमारी रानाले बताइन्।
बन्दिपुर बजार क्षेत्रमा ७७ वटा होटलका ६०५ वटा कोठामा पन्ध्र सय पाहुना अट्ने क्षमता रहेको छ। त्यस्तै बजार क्षेत्रमै चार होमस्टेका १ सय ८५ घरमा ३ सय ८३ जना पाहुना अट्न सक्छन्।