प्रख्यात जापानका फेसन डिजाइनर केन्जो टकाडाको निधन भएको छ।
केन्जोका प्रवक्ताले विभिन्न अन्तर्राष्ट्रिय मिडियालाई जनाएअनुसार उनकाे निधन कोरोनाका कारण भएको हो। ‘उनी अक्टुबर ४ मा कोरोना संक्रमण कारण ८१ वर्षको उमेरमा बितेका हुन्’ प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
संक्रमण पुष्टीपछि उनी फ्रान्सको न्युली-सुर-सेइन सहरस्थित एक अमेरिकन अस्पतालमा उपचारका क्रममा थिए।
‘यो अत्यन्त दुः खको खबर हो। ब्रान्ड के–३ ले प्रख्यात कलात्मक निर्देशक केन्जो टकाडालाई गुमाएको छ’, विज्ञप्तिमा लेखिएको छ ‘उनले ८ हजार बढी डिजाइनमा काम गरे। तर फेसन र जीवनको कलादेखि सन्तुष्ट भएनन्।’
पेरिस आधारित जापानी डिजाइनर केन्जो अन्तर्राष्ट्रिय लक्जरी फेशन हाउस ‘केन्जो’ ब्रान्डका लागि प्रख्यात छन्। केन्जो टकाडाले ‘केन्जो’ नामक ब्रान्ड सन् १९७० सालमा स्थापना गरेका थिए। यो अहिले एलभिएमएचद्वारा संचालित छ।