फलफूलको ‘राजा’ मानिने किबी फलबाट बनेको वाइन बजारमा आएको छ।
धनकुटाको राजारानीमा उत्पादित वाइन फ्याक्ट्रीले आफ्नो पहिलो उत्पादन काठमाडौंमा बिक्री सुरू गरेको हो।
पोषिलो फलको रूपमा रहेको किबीको व्यावसायिक खेती पूर्वी नेपालमा सुरू भएसँगै वाइन उत्पादन सुरू गरी बजारमा ल्याइएको उत्पादकले जनाएका छन्।
पहिलो पटक काठमाडौंमा पूर्वी पहाडी जिल्लामा उत्पादन भएको फलको वाइन चखाउन बिक्री सुरू गरेको माउण्ट एभरेष्ट वाइनरीका प्रबन्ध निर्देशक विष्णु बाँस्तोलाले बताए।
‘प्रिन्सेस नामक वाइन बजार ल्याएका छौं,’ उनेले भने।
अनुकूल हावापानीका कारण नेपालको पहाडी क्षेत्रमा किबीको व्यावसायिक खेती गर्न सकिने भन्दै किसानहरूलाई लक्षित गरेर करिब २० करोडको लागतमा वाइन उत्पादन भएको उनले बताए।
लगत्तै केही दिनभित्रै पूर्वी नेपालको सहरहरुमा बिक्री सुरू गर्ने बाँस्तोलाले बताए।
‘प्रिन्सेस वाइनले वाइन पारखी उपभोक्ताको मन जित्न सफल हुनेमा हामी विश्वस्त छौं,’ उनले भने। उद्योगले रेड र ह्वाइट वाइन उत्पादन गरिरहेको छ। उद्योगमा करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पाइरहेको बाँस्तोला बताउँछन्। ‘उद्योग आफैंले पनि किबी खेतीमा लगानी गरेको छ,’ उनले भने।
वाइनरी क्षेत्रमा संगालेको लामो अनुभव र देशविदेशका तालिमबाट प्राप्त गरेको विज्ञताका कारण आफूहरू उद्योगबाट उत्कृष्ट क्वालिटीको वाइन उत्पादन गर्न सफल हुने बाँस्तोला बताउँछन्। साढे दुई दसकको इतिहास रहेको स्वदेशी वाइन उद्योगको बजार विस्तार हुँदै जाँदा उद्योगहरूको संख्या करिब दुई दर्जन पुगेको छ।
उच्च वर्गमा सीमित वाइन पछिल्लो एक दसकदेखि नेपाली बजार सुहाउँदो उत्पादन, मूल्यका कारण मध्यम र निम्नमध्यम वर्गमा प्रिय बनिरहेको छ। ‘आफ्नै देशको किसानको उत्पादन खेर जान नदिन हामीले पहिलोपटक किबीको वाइन बजारमा ल्याएका हौं,’ कम्पनीका अध्यक्ष हरेराम साह भन्छन्, ‘हामी बजारलाई नयाँ स्वाद चखाउन चाहान्छौं।’
नेपालमा हावापानी अनुसार चैत-वैशाखमा किबी फूल फुल्छ र कात्तिक, मंसिरमा फल टिप्न तयार हुन्छ। संसारमा पाइने २७ फलमध्ये सबैभन्दा पोषिलो फलको रूपमा किबीलाई लिने गरिएको छ।
काँचो खाँदा अमिलो हुने किबीमा भिटामिन तथा खनिज पदार्थ प्रशस्त पाइन्छ। किवीमा औषधीजन्य गुण पनि पाइन्छ।
पेट सम्बन्धी रोग, निमोनिया, दम, रक्तचाप, कोलेस्टेरोल, मधुमेहजस्ता रोगका लागि उपयोगी मानिन्छ। किबी फलबाट जुस, जाम, वाइन लगायत विभिन्न परिकार बनाउन सकिन्छ।
किबी स्वास्थ्यका लागि पनि गुणकारी फल मानिन्छ। किबीबाट भिटामिन, खनिज र औषधीजन्य तत्व प्राप्त गर्न सकिन्छ। जसले पेटको विभिन्न समस्याबाट बचाउनुका साथै मधुमेह, निमोनिया, दम, रक्तचाप, कोलेस्टेरोललार्य सन्तुलनमा राख्ने काम गर्छ।