विद्यार्थी भिसामा डेनमार्क पुगेका पोखराका सैलेश नेपाली लकडाउनअघि मात्र नेपाल आएका थिए।
डेनमार्कमा स्नातक तहको पढाइ सकेर आएका सैलेश स्नातकोत्तर अध्ययनका लागि फेरि डेनमार्क जाने सोचमा थिए। जब लकडाउन भयो, उनी नेपालमै थुनिए।
कोरोना भाइरसको महामारीले अझै अन्तर्राष्ट्रिय उडान सुचारू भइसकेका छैनन्, पठन–पाठन विश्वभर नै प्रभावित छ। सैलेशले डेनमार्क फर्कनुअघि नेपालमै केही गर्ने सोच बनाए। पोखरामै कलाकारितामा रहेका रोहन नेपाली पनि यस्तै सोचमा थिए।
नेपाली चलचित्र र म्युजिक भिडिओमा कोरियोग्राफीसँगै अभिनय गर्दै आएका रोहनले लकडाउनको समयमा पनि अन्य खाद्यान्न तथा अखाद्य वस्तुको होम डेलिभरी भइरहेको देखे।
उनलाई लाग्यो, पेय पदार्थका पारखीले लकडाउनमा पिउन पाएनन्। त्यसपछि रोहनले पेय पदार्थको अनलाइन डेलिभरी दिने व्यवसाय सुरू गर्न चाहे।
रोहनको यही चाहनालाई साथ दिए सैलेशले। उनीहरू दुई जनाको समूहमा थपिए, अर्का युवा अमित नेपाली।
अमित पोखरामा फोटोग्राफी तथा भिडिओग्राफी गर्थे। उनलाई आफ्नो कामका साथसाथै अर्को व्यवसाय सुरू गर्ने मनसाय थियो, पेय पदार्थको अनलाइन व्यवसायमा सामेल भए।
यी तीन युवाले पोखरामा पहिलो पटक वैधानिक अनलाइन पेय पदार्थको विक्री वितरण थालेका छन्। उनीहरूले भट्टी अनलाइन नामक कम्पनी दर्ता गरेर कात्तिक १ देखि व्यवसाय सुरू गरेका छन्।
पोखरामा यसअघि एकाध पसलले पेय पदार्थको डेलिभरी दिने गरे पनि वैधानिक रूपमा आफूहरूले यस व्यवसाय थालेको रोहनले दाबी गरे।
'लकडाउनमा पिउनेहरूले पिउन पाएनन्', उनले भने, 'अब हामी पोखराभित्र जहाँ पनि पेय पदार्थको डेलिभरी दिन्छौं।'
घरमा बसेर वा साथीसंगी जमघट भएर पिउन चाहनेलाई पनि आफूहरूले डेलिभरी दिएको उनको भनाइ छ।
व्यवसाय सुरू गरेपछि सोचेभन्दा धेरै व्यवसाय भएको रोहनले बताए।
विदेशमा भएकाहरूले साथी र घरमा आवश्यक पेय पदार्थको अर्डर दिने र आफूहरूले घरमा पुर्याइदिने गरेको उनले बताए।
'हामीले अहिल्यै यो व्यवसाय फस्टाउला भनेर सोचेकै थिएनौं', उनले भने, 'वेबसाइट र फेसबुक पेजबाट नम्बर खोजेर हामीले धेरै जनाले फोनमार्फत् अर्डर गर्नुभएको छ।'
भट्टी अनलाइनमार्फत् झण्डै १ सय थरीका मदिरा, जुस, ड्राइ फुडको डेलिभरी दिने गरेको उनीहरूले बताएका छन्।
कतिपय मानिसले मध्यरातमा पनि अर्डर गर्ने गरेको अमितले बताए।
'डेलिभरी मागेकै ठाउँमा हामीले राम्रो प्याकेजिङमा सर्भिस दिएका छौं', उनले भने, 'हाम्रा ग्राहक खुसी हुनुहुन्छ, हामी उत्साही छौं।'
तीन जना युवाले यस व्यवसायका लागि ४० लाख रुपैयाँ लगानी गरेका छन्।
पोखराको जिरो किलोमिटरमा एउटा फ्ल्याट लिएर कार्यालयसँगै गोदाम बनाएका छन्। त्यहीँबाट उनीहरूले डेलिभरी दिन्छन्।
कोरोना भाइरस महामारीका कारण रेष्टुरेन्ट र होटलमा जान नपाएका व्यक्तिले घरमै चाहेको पेय पदार्थ अर्डर गर्न सक्ने रोहनले बताए।
होम डेलिभरी दिँदा सेवा शुल्क नलिएको उनले बताए।
ग्राहकले अन्य मदिरा पसलहरूमा भन्दा सस्तोमा आफूहरूले डेलिभरी दिएको उनीहरूको दाबी छ।
पोखरामा रहेका विभिन्न पेय पदार्थको डिलरबाट उनीहरूले खरिद गर्ने र गोदाममा राख्छन्।
बजारमा सटर भाडामा नलिएका कारण पनि उनीहरूलाई डेलिभरी दिन सस्तो पर्न गएको रोहनले बताए ।
यतिकै बस्नुभन्दा केही गर्यौं भनेर आफूहरूले यो व्यवसाय सुरू गरेको उनीहरू बताउँछन्।
'यत्तिकै बस्नुभन्दा केही व्यवसाय सुरू गरौं भनेर हो', रोहनले भने, 'हामीले नपिए पनि पिउनेहरूलाई जहाँ भन्छन्, त्यहीँ डेलिभरी दिन्छौं।'