कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल संचालनमा आउने भएको छ। द क्लिफ प्रालीले कार्तिक १५ गतेदेखि आफ्ना गतिविधि सन्चालनमा ल्याउने बताएको हो।
बैशाखमै सञ्चालनमा ल्याउने तयारी गरेपनि लकडाउनले गर्दा सन्चालनमा आउन सकेको थिएन।
बन्जी र स्वीङ दुबैको मुल्य ७ हजार तोकिएको छ। पोखरादेखी कुश्माको दुइतर्फी गाडीको सुबिधा सहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रहेको छ। टेण्डम (जोडी) स्वीङको १२ हजार रहेको कम्पनीका सञ्चालक राजु कार्कीले बताए।
बन्जीका लागि निर्माण भएको पुलकोमाथी गुलेली शैलीको पिङ बनाइएको छ।
जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक रहेको उनी बताउँछन्। यो गुलेलीको शैलीमा निर्माण गरिएको छ।
सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडिबाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ।
कार्कीका अनुसार पिङ खेल्न प्रति व्यक्ति २ सय ५० रुपैयाँ लाग्ने छ।
स्काइ साइक्लीङ गर्न प्रति व्यक्ति ५ सय लाग्छ। साइक्लीङकालागि आवस्यक साइकल र अन्य सुरक्षा उपकरण कम्पनीले नै प्रदान गर्ने कार्कीले बताए।
काठमाडौ, चितवन, पोखराबाट पर्वत कुश्मा सम्म सजिलै सार्वजनिक बस पाइन्छ। पोखराको बाग्लुङ बसपार्कमा गएर कुश्मासम्म पुग्ने सेयरिङ ट्याक्सीमा पनि जान सकिन्छ।
द क्लिफमै गाडी सहितको प्याकेज बुक गरेर पोखरा कुश्मा दुइतर्फी गाडीको सुबिधा लिन सकिन्छ। जम्प नगर्ने तर हेर्न मात्र जान चाहने ब्यक्तिले २ हजार रुपैयाँ तिरेर गो एन्ड सी प्याकेज रोजेर दुइतर्फी गाडीको सुबिधा लिन सक्ने कम्पनीले बताएको छ।