यही मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुने नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै छ। यसका लागि निर्वाचन समितिले कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ।
मंसिर १४ गते हुने निर्वाचनका लागि उम्मेद्वारी दिएकाहरुको सूची निर्वाचन समितिले प्रकाशित गरेको छ। उम्मेद्वारी फिर्ता लिने समय भने मंसिर ६ देखि ८ सम्मको समय दिइएको छ।
निर्वाचन समितिले प्रकाशित गरेको सूचीअनुसार कूल १२७ जनाको उम्मेद्वारी परेको छ। यसमा वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधान, वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र उमेश श्रेष्ठ, एशोसिएट्स तर्फबाट रामचन्द्र संघई र सौरभ ज्योतिले उम्मेद्वारी दिएका छन्।
१८ जना निर्वाचित हुने जिल्ला नगर निर्वाचन क्षेत्रमा ३८ जनाले उम्मेद्वारी दिएका छन्। त्यस्तै प्रत्येक प्रदेशबाट १ जना निर्वाचित हुने क्षेत्रमा १७ जनाको उम्मेद्वारी परेको छ। यसमध्ये प्रदेश १ बाट राजेन्द्र साउत सर्वसम्मत भएका छन्। १ जना निर्वाचित हुने संस्थापक समूहबाट ३ जनाको उम्मेद्वारी परेको छ।
१४ जना कार्यकारिणी समिति सदस्य निर्वाचित हुने वस्तुगत तर्फमा २९ जनाले उम्मेद्वारी दिएका छन् भने १९ जना निर्वाचित हुने एशोसिएट्सबाट ३३ जनाले उम्मेद्वारी दिएका छन्। एकजना निर्वाचित हुने द्विराष्ट्रियबाट सन्दिप अग्रवाल सर्वसम्मत भएका छन्।
वरिष्ठ उपाध्यक्ष स्तव: अध्यक्ष हुने महासंघमा प्रदेश वाणिज्य संघका अध्यक्षहरु पदेन सदस्य हुन्छन्। त्यस्तै निवर्तमान अध्यक्ष पनि पदेन सदस्य हुने व्यवस्था रहेको छ। विधानको व्यवस्थाअनुसार अध्यक्षले पाँचजना मनोनयन गर्न पाउछन्। निर्वाचित कार्यकारिणी समिति सदस्यहरुले कोषाध्यक्षको निर्वाचन गर्छन्।