नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र ढकालले आफू निर्वाचित भएमा विधानको भावना तथा मर्मअनुसार काम गर्ने बताएका छन्।
महासंघको साधारणसभामा ढकालले चुनावको तिक्तता बाँकी कार्यकालमा नदेखिने गरी विधानअनुसार आफू चल्ने प्रतिबद्धता व्यक्त गरे।
वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अर्का वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान र आफूलाई बराबर व्यवाहर नगरेको प्रति असन्तुष्टी जनाएका छन्। आफूले सबैलाइ समान व्यवहार गर्ने उनले बताए।
'जित्ने र हार्ने बीचको तिक्तता चुनाव पछि झन् बढ्ने गर्छ। त्यसैले वरिष्ठ उपाध्यक्षका लागिमात्र चुनाव गर्ने भन्ने व्यवस्था ल्याइएको थियो। भवानी राणा वरिष्ठ उपाध्यक्षबाट स्वत:अध्यक्ष हुनुभयो। त्यसपछि शेखर गोल्छा हुनुहुन्छ। म र किशोर जी अहिले प्रतिस्पर्धामा छौँ। तर यो व्यवस्थाको नैतिक मूल्य रहेन कि भन्ने मलाई लागेको छ। शेखरजीले हामी दुबै जनालाई समान व्यवाहर गरेको भए राम्रो हुने थियो। जुन भएन कि?' उनले भने।
महासंघको चुनावले टाढिए पनि अन्तत: व्यवसायका कारण एकै ठाउँमा आउनैपर्ने भएकाले यसलाई प्रतिष्ठाको विषय बनाउन नहुने उनको भनाइ छ।
'कतिपय साथीहरुले यो चुनावलाई जीवन मरणको विषय बनाउनुभयो। महासंघकाे चुनावमा विजय तथा पराजय भनेको व्यवसयिक सफलता र असफलतासँग जोडिने कुरा हाेइन। यो त हाम्रो सामाजिक जिम्मेवारी मात्र हो भन्ने लाग्छ। त्यसैले नैतिक मान्यता नभत्काएको भए हुन्थ्यो कि?' उनले भने।
ढकालले चैतको साधारणसभा सरेकाे केही समयपछि प्रोटोकल पुरा गरेर चुनाव गरौ भन्दा आफूलाई प्रश्न उठाइएको तर आफ्नो निष्कर्ष अहिले सही भएको दाबी गरे।
चुनावमा प्यानल बनाएका ढकालले आफ्नो समूह सन्तुलित र समावेसी भएको बताए। सबैका समस्या समाधान गर्नसक्ने समूह बनाइएकाले सफलता हात पार्नेमा आफू विश्वस्त रहेकाे उनकाे भनाइ छ।
सबै क्षेत्रका उपाध्यक्षहरु रहेको र सदस्यसम्मै योग्यता र क्षमताको आधारमा समूह बनाएको उनकाे दाबी छ।
'चार जनामध्ये दुई जना त हामी सिआइपी पाएका छौं। सबैभन्दा धेरै कर तिरेर सम्मानित भएकाहरु पनि हाम्रै टिममा हुनुहुन्छ। म सानो व्यवसाय सञ्चालन सुरु गरेको आफै छु। सबै जिल्लामा सञ्चालन छ। नेपालको निजी क्षेत्रको छाता संगठनको नेतृत्व लिन आफूलाई योग्य ठान्छु' उनले भने।