निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि आज मतदात भइरहेको छ। महासंघका अनुसार सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नका लागि तीन ठाउँमा मतदान भइरहेको हो।
समूहअनुसारका मतदात केन्द्र तोकिएको निर्वाचनमा वस्तुगत तर्फको मतदान महासंघको केन्द्रीय कार्यालय टेकुमा भइरहेको छ।
त्यस्तै जिल्ला नगर तर्फको मतदात प्रज्ञा प्रतिष्ठान कमलादीमा भइरहेको छ। एशोसिएटको भने कार्की ब्याक्वेट बबरमहलमा भइरहेको छ।
बेलुका पाँच बजेसम्म हुने मतदानपछि सबै मतपत्र कमलादीमा संकलन गरेर मतगणना हुने निर्वाचन कार्यक्रम रहेको छ।
को छन् प्रतिस्पर्धामा?
महासंघको आगामी कार्यकालका लागि वर्तमान वरिष्ठ उपापध्यक्ष शेखर गोल्छा स्वत: अध्यक्ष हुने छन्। यो निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानले प्यानल बनाएर उम्मेदवारी दिएका छन्।
ढकाल समूहमा अन्य उपाध्यक्षमा जिल्ला नगर उद्योग वाणिज्य संघ तर्फको उपाध्यक्षमा गुणनिधी तिवारी, एशोसिएट तर्फबाट रामचन्द्र संघई र वस्तुगत तर्फबाट उमेशलाल श्रेष्ठ छन्। यीमध्ये ढकाल र श्रेष्ठ वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन्।
प्रधान प्यानलमा जिल्ला नगर संघतर्फ दिनेशलाल श्रेष्ठ, एशोसिएटतर्फ सौरभ ज्योति र वस्तुगततर्फ अन्जन श्रेष्ठ छन्।
कूल ६४ पदका लागि हुने निर्वाचनमा १२३ उम्मेदवार रहेका छन्। प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट सन्दिप अग्रवाल निर्विरोध भइसकेका छन्।
कसरी हुन्छ निर्वाचन?
महासंघको विधानअनुसार जिल्ला नगर, वस्तुगत र एशोसिएट्स समूहमा एक/एक जना उपाध्यक्ष हुन्छन्।
ती समूहमा रहेका मतदाताले आफ्नो समूहको एक जना उपाध्यक्ष चयन गर्छन्। सबै समूहमा रहेका मतदाताहरूको संयुक्त भोटिङबाट वरिष्ठ उपाध्यक्ष चयन हुने व्यवस्था छ। विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत: अध्यक्ष हुन्छन्।
वरिष्ठ उपाध्यक्षका लागि भोटिङ हुँदा विभिन्न समूहका लागि फरक/फरक मतभार निर्धारण गरिएको हुन्छ।
सबै मतभारलाई १०० प्रतिशत मानेर ५० प्रतिशत बढी मत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्षमा विजयी हुन्छन्।
यदि पहिलो चरणमा ५१ प्रतिशत मत नआएमा बढी मत प्राप्त गर्नेबीच प्रतिस्पर्धा हुन्छ र त्यसमा जसले बढी भोट ल्याउँछ उही विजयी हुन्छ।
विधानअनुसार जिल्ला नगर वाणिज्य संघको ५० प्रतिशत मतभार हुन्छ। वस्तुगतको २० प्रतिशत हुन्छ भने एशोसिएट्सको ३० प्रतिशत भार हुन्छ।
महासंघको कार्यकारीणी समितिमा निर्तमान अध्यक्ष पदेन सदस्यको रूपमा हुन्छन्।
त्यस्तै प्रदेश उद्योग वाणिज्य संघको तर्फबाट प्रतिनिधत्व गर्ने सात जना सदस्य निर्वाचित हुन्छन्। प्रदेश अध्यक्ष पनि पदेन सदस्य हुने व्यवस्था छ।
जिल्ला नगर वाणिज्य संघबाट १८ जना सदस्य निर्वाचित हुन्छन् भने वस्तुगतबाट १४ जना निर्वाचित हुन्छन्।
द्विराष्ट्रियबाट एक जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ। एशोसिएट्सबाट १९ जना सदस्य निर्वाचित हुन्छन्।
संस्थापक सदस्यहरूबाट पनि एक जना निर्वाचित भएर सदस्य हुने छन्।
अध्यक्षले पाँच जना मनोनय गरेका सदस्यहरू पनि कार्यकारिणी समितिमा हुने छन्। कार्यकारिणी समितिमा निर्वाचित सदस्यले कोषाध्यक्ष निर्वाचित गर्ने विधानको व्यवस्था रहेको छ।