कोरोना महामारीका कारण १० महिनापछि खुलेको माउन्टेन फ्लाइटमा नेपालीहरुको आकर्षण देखिएको छ। कोरोना महामारी फैलिन नदिन भन्दै अघिल्लो वर्ष चैतमा लागू लकडाउनका कारण बन्द उडानको सुरूआती चरणमा नेपालीहरूकै आकर्षण देखिएको हो।
सामान्य अवस्थामा माउन्टेन फ्लाइटमा विदेशीको आकर्षण हुने गर्छ।
पछिल्लो समय बुद्ध र यती एयरले माउन्टेन फ्लाइट खुलाएका छन्। यी एयरलाइन्सले उडान खुलाएसँगै सस्तो भाडा तथा आकर्षक अफर पनि ल्याएका छन्।
अफर तथा लामो समय घुमफिर गर्न नपाएकाहरूका लागि माउन्टेन फ्लाइट उपयुक्त रोजाइ भएकाले अहिले आकर्षण देखिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
बर्तौलाका अनुसार शनिबारका लागि खुलाइएको उडानमा बुधबार नै सबै सिट बिक्री भइसकेका छन्। बुद्ध र यतीले शनिबारदेखि हप्तामा एक दिन माउन्टेन फ्लाइट गर्ने घोषणाका गरेका छन्।
यतीले शनिबारका लागि दुई उडानका लागि टिकेटिङ खुलाएको थियो। ती सबै बिक्री भइसकेको बर्तौलाले जानकारी दिए।
यतीले माउन्टेन फ्लाइटका लागि ८ हजार ८ सय ४८ रुपैयाँ भाडा निर्धारण गरेको छ। यस्तै एउटा टिकट किन्दा अर्को सिट सित्तैमा पाइने छ।
बुद्ध एयरले पनि ८ हजार ९ सय रुपैयाँ भाडा निर्धारण गरेको छ। बुद्धले पनि एउटा टिकटमा अर्को सिट निःशुल्क दिने अफर ल्याएको छ। यसरी पाइने अफरको सिट भने झ्यालसँगैको हुने छैन।