सेकुवा पारखीहरूलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको चेन रेस्टुरेन्ट बाजेको सेकुवाले काठमाडौंको बाफलमा आफ्नो १३ औं शाखा सञ्चालनमा ल्याएको छ।
दक्ष युवाहरूलाई उद्यमी बन्न प्रेरित गर्दै देशभित्रै रोजगारी सिर्जना गर्ने उद्धेश्य राखेको कमपनीले बाफलस्थित बाजेको सेकुवाको फ्रेञ्चाइज राम शरण डङ्गोल, प्रशान्त गिरी, पविन थापा लगायतलाई दिएको हो। उक्त फ्रेञ्चाइजमा प्रत्यक्ष रूपमा २५ जनाले रोजगारी पाएका छन्।
उपत्यकाबाहिर पोखरा र बुटवलमा फ्रेञ्चाइज मोडेलमा रेस्टुरेन्ट सञ्चालन भइरहेको छ भने अमेरिकाको न्युयोर्क र डालासमा पनि बाजेको सेकुवा ‘द हिमालयन ग्रिल’ का रूपमा फ्रेञ्चाइज सञ्चालनमा छन्।
बाजेको सेकुवा ब्रान्डमा रेस्टुरेण्ट सञ्चालन गर्न इच्छुक लगानीकर्ताको पहिचान र फ्रेञ्चाइज सम्झौता गर्ने काम बाजेको भेन्चर प्रालिले गर्दै आएको छ।
यो कम्पनीले कुनै पनि सहरमा रेस्टुरेण्ट सञ्चालनमा ल्याउनुअघि स्थानीय बजारमा उपभोक्ताको खर्च गर्ने प्रवृत्ति, स्थानीय रेस्टुरेण्ट सञ्चालनको सम्भाव्यता अध्ययन गरेर सम्भावना रहेको ठाउँमा मात्र फ्रेञ्चाइज विस्तारलाई प्राथमिकतामा पार्ने गरेको सञ्चालक चेतन भण्डारीले बताए।
मुख्य व्यापारिक सहरमा बढ्दो उपभोग र बजार मागलाई लक्षित गरी बाजेको भेन्चर प्रालिले फ्रेञ्चाइज मोडलमा रेस्टुरेन्ट सञ्जाल विस्तारलाई अगाडि बढाइरहेको छ। नेपालगन्ज, वीरगन्ज, धनगढी, विर्तामोड, हेटौंडा, बनेपा–धुलिखेल र नेपाल बाहिर अमेरिकामा थप केही, अस्ट्रेलिया, जापान, मलेसिया र बेलायतमा आगामी केही वर्षभित्र रेस्टुरेन्ट सञ्जाल विस्तार गरिसक्ने लक्ष्य रहेको भण्डारीले जानकारी दिए।
काठमाडौं उपत्यकाको सिनामङ्गलबाट चार दशकअघि सुरू भएको बाजेको सेकुवा रेस्टुरेण्टअन्तर्गत अहिले उपत्यकाबाहिर २ वटा, उपत्यकाभित्र ९ वटा र अमेरिकामा २ वटा गरी १३ वटा आउटलेट सञ्चालनमा छन्।