नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी र उद्योगमन्त्रीबीच भेट भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज सिंहदरबारमा आयोजित कार्यक्रमका क्रममा उक्त भेट भएको हो।
कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड पश्चात उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रको पुनरूत्थानका लागि सुझावहरू तयार गर्ने कार्यको शुरूवात गरिएको जानकारी गराएका थिए। अन्तर्राष्ट्रिय संस्थाकोसमेत सहयोगमा मुलुकको “भिजन डकुमेन्ट” तयार गर्ने कार्यलाई अगाडी बढाएको र डकुमेन्ट तयारी पछि सरकारबाट स्वीकृत गराई सहकार्य गरिने उनले बताए।
मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी उक्त कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले महासंघका पदाधिकारीहरूबाट आएका सुझावहरू महत्वपूर्ण रहेको र मन्त्रालयले छिट्टै महासंघका लगायतका अन्य व्यवसायिक संघ संस्थाहरू, सरोकारवाला सरकारी निकायसमेतको सहभागितामा एक विशेष कार्यक्रमको आयोजना गरी उद्योग व्यवसायको विकासमा ठोस निश्कर्षमा पुगिने बताएका थिए।