नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड १९ पछिको अवस्थामा अर्थतन्त्रमा केही आधारभुत परिवर्तन हुने बताएका छन्।
इ-बिजनेस पोलिसी फोरम भर्चुअल छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै गोल्छाले अबको समयमा आर्थिक बृद्धि तथा रोजगारी सिर्जनाका लागि प्रविधिमा आधारित व्यवसायमा सबैको ध्यान जानुपर्ने बताए।
महामारीका कारण आर्थिक गतिविधि सुस्त भएको र बेरोजगारी बढेको सन्दर्भमा महासंघले भिजन पेपर बनाइरहेको र त्यसमा इन्टरनेट तथा प्रविधिमा आधारित व्यवसायलाई प्राथमिकतामा राखिएको उनले बताए।
'हरेक संकटले केही न केही अवसर ल्याएर आउछ। यो महामारीले प्रविधिलाई फस्टाउने अवसर दिएको छ। इन्टरनेट अहिले आधारभुत आवश्यकता बनिसकेको छ। सरकार तथा निजी क्षेत्रले यो मर्म बुझेर नयाँ व्यावसायिक वातावरण बनाउनेतिर लाग्नुपर्छ' गोल्छाले भने।
विकसित मुलुकमा निकै भरपर्दो भइसकेको भएपनि इकमर्श जस्ता प्रविधिमा आधारित व्यवसाय नेपालमा भने प्रारम्भिक चरणमै रहेकाले यसमा नियमनदेखि पूर्वाधारसम्ममा काम गर्नुपर्ने उनको भनाइ छ।
प्रविधिमा आधारित व्यवसाय विस्तारका लागि सहज पुँजी र सरल नियमन हुनुपर्ने उनको भनाइ छ। युवाहरुले यस्ता व्यवसायमा हात हाल्ने भएकाले उनीहरुलाई पुँजी तथा झन्झटरहित र स्पष्ट नियमन हुनुपर्ने उनको भनाइ छ। अहिलेको अवस्थामा नेपालमा झन्झटिलो प्रक्रिया तथा अस्पष्ट नीतिगत व्यवस्थाका कारण उल्टो निरुत्साहितमात्र भइरहेको उनले बताए।
उद्योग वाणिज्य महासंघले देशमा प्रत्येक वर्ष चार लाख नयाँ रोजगारी सिर्जना गर्ने उपायाहरु समेटेर भिजन पेपर बनाइरहेको उनले जानकारी दिए। उक्त भिजन पेपरमा प्रविधिमा आधारित व्यवसयालाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।
सबैको आवश्यकतालाई छुने तथा प्रविधिबाट सम्बोधन गर्नका लागि इ-हाटको व्यवस्थामा जान सकिने उनको भनाइ छ।
'हामीले इ-हाटको अवधारणामा काम गरिरहेका छौ। नेपालमा किसानहरुले धेरै बिचौलियाका कारण लाभ गुमाइरहेका छौं त्यस्तै यसले नयाँ अवसर पनि सिर्जना रोकिरहेको छ। हामीले इ-हाटको व्यवस्था गर्न सक्यौं भने नयाँ अवसर हुन्छ अर्कोतिर किसानहरुले लाभ पाउछन् र देशको अर्थतन्त्र सबल हुँदै जान्छ' उनले भने।