कोरोनाका कारण संसाभरको कार्यशैलीमा परिवर्तन आएको छ। सूचना-प्रविधि प्रयोगबाट दैनिकी सामान्य बनाउन धेरैतिर धेरै प्रयोग भए। नेपालमा पनि यस्ता प्रयोग धेरै भए।
सूचना-प्रविधि प्रयोगका सन्दर्भमा नेपालमा सरकारी सेवा पर्छ। सरकारी कार्यालयमा सूचना-प्रविधि पूर्वाधारमा ठूलो लगानी भए पनि सेवा प्रवाहमा त्यसको प्रयोग न्यून छ। कोरोनापछि पनि कयौं सरकारी कार्यालयको शैली परिवर्तन भएको छैन।
२०७६, चैत ११ गतेदेखि सुरू लकडाउनले केही सरकारी कार्यालयलाई भने सूचना प्रविधि प्रयोगमा अभ्यस्त बनाएको छ। त्यहीमध्येको एक हो भन्सार विभाग।
सार्वजनिक रूपमा उपलब्ध प्रविधिका माध्यम र सरकार आफैंले लगानी गरेर बनाएका पूर्वाधार प्रयोगबाट डिजिटल सेवा दिनेमा भन्सार विभाग अहिले अगाडि बढेको छ।
कोरोना महामारीअघिकै पूर्वाधार, जो धेरै उपयोगमा आएका थिएनन् तिनको प्रयोग लकडाउनपछि बढेको भन्सार विभागका महानिर्देशक सुमन दाहालको भनाइ छ।
भन्सार विभागले विश्वस्तरीय भन्सारको अनलाइन प्रणाली सञ्चालनमा ल्याएको धेरै भइसकेको छ। तर पनि त्यसको खास प्रयोग कोरोनाअघि भएको थिएन।
कोरोनाका समयमा अधिकतम प्रयोग भएको दाहालको भनाइ छ।
'कोरोनापछि हामीले अत्यावश्यक सामग्रीको जतिसक्दो चाँडो जाँचपास गर्नुपर्ने थियो। त्यसका लागि भौतिक रूपमै मालवस्तु हेरेर गर्न सकिने अवस्था त थिएन नै, अर्कोतिर कार्यालयमै आउने पनि अवस्था थिएन,' उनले भने, 'त्यस्तोमा हामीले अनलाइन माध्यमबाटै कतिपय वस्तुको जाँचपास हुने व्यवस्था मिलायौं।'
पहिलेदेखि नै भएको तर प्रयोगमा धेरै नआएको यो प्रणाली पछिल्लो समय भने राम्रैसँग बढेको छ। सेवाग्राही पनि यसमा अहिले अभ्यस्त हुँदै गएका छन्। यो प्रणालीको प्रयोग बढाउँदै लिएर अन्तत: 'फेसलेस' भन्सार बनाउने लक्ष्य प्राप्तिमा सहयोग पुग्ने उनको विश्वास छ।
सरकार आफैंले लगानी गरेका पूर्वाधार बृद्धि भएर डिजिटल कामकारबाही हुँदा प्रभावकारी सेवा प्रवाह हुने र भन्सारको प्रक्रियाका कारण अवरोध हुने व्यापार प्रक्रिया सरलीकरण हुने दाहालको भनाइ छ। भन्सारले यो बीचमा उपलब्ध अन्य सूचना तथा सञ्चारका माध्यमको पनि अधिकतम उपयोग गरेको छ। यस कारण दाहाललाई प्रशासनिक कामकारबाहीमा सूचनाको प्रवाहको महत्वको ज्ञान भयो।
'मलाई मात्र होइन, त्यो बेलाको आतपतकालसँग लड्न हामीले जसरी सूचना प्रवाह गरेका थियौं, त्यो अरू निकायले पनि अनुभव गर्न पाए,' उनले भने।
शासन सञ्चालन तथा निर्णय प्रक्रियामा सूचना प्रवाहको महत्व कति हुन्छ भन्ने कुराको व्यावहारिक ज्ञान भन्सार विभागका अधिकारीहरूले लकडाउनबाट सिकेका छन्।
'चैत ११ गते लकडाउन हुनेबित्तिकै हामी सबैमा अन्यौल धेरै थियो। त्यस्तोमा अत्यावश्यकीय वस्तुको आयात नै रोकिएर आपूर्ति प्रणाली नै अवरुद्ध हुने जोखिम थियो। कतिपय वस्तुको कालोबजारी पनि हुन थालेको थियो,' दाहालले भने,' तर हामीले विभिन्न काम गर्यौं। आयातलाई निरन्तरता दियौं। भइरहेको आयातको मात्रा सूचना हामीले सार्वजनिक गर्यौं। अन्तर सरकारी निकायमा पनि सबै सूचना प्रवाह गर्यौं।'
यसरी सूचना प्रवाह हुँदा एकातिर प्रशासकीय निर्णय तत्काल हुन थाले भने अर्कातिर बजारमा कुनै पनि अत्यावश्यकीय वस्तुको पर्याप्तताबारे थाहा पाएर जनता आश्वस्त भएको अनुभव दाहालसँग छ।
यो सिक्ने क्रममा विभागले कुनै नयाँ आविष्कार भने गरेको होइन। भएकै सामाजिक सञ्जाल, टेलिफोनलाई व्यापक प्रयोग गरेको हो।
लकडाउन हुनेबित्तिकै भन्सारमा जाँचपासको विधिमा केही फरक भयो। विदेशबाट आउने र यहाँ भित्रिने कुरामा पनि केही अन्यौल थिए। कुन गाडीलाई छिर्न दिने वा नदिने भन्ने विषयमा पनि माथिल्लो निकायको राय चाहिने अवस्था थियो।
'यस्तोमा कुन नाकामा कतिबेला के समस्या आउँछ भन्ने कुनै अनुमान थिएन। सबैतिर समस्या आइरहेका हुन्थे। त्यस्तोमा व्यक्तिगत फोन उठाएर वा एउटाले जवाफ दिएर सकिने अवस्था थिएन,' दाहालले भने, 'त्यति बेला मैले सबै भन्सार कार्यालय प्रमुखको एउटा ह्वाट्सएप ग्रुप बनाएँ जहाँ सबैतिरका समस्या आउँथे। मैले त्यहाँबाट सूचना लिएर समाधानको पहल गर्थेँ।'
विभागले भन्सारसँग सम्बन्धित समस्या समाधानका लागि बनाएको र्यापिड टिमसँग सर्वसाधारणले समेत फोनको पहुँच पाएर जसरी सूचना लिइरहेका थिए। त्यसैगरी विभागका महानिर्देशकले पनि समस्याहरू इन्टरनेटको माध्यमबाट लिए।
यो कामबाट आपतकालमा आपूर्ति व्यवस्था जारी राख्न तथा अन्तर्राष्ट्रिय व्यापार निर्वाध सञ्चालन गर्न सबभन्दा बढी प्रभावकारी भएको दाहालको अनुभव छ।
विभागले आपतकालमा प्रयोगमा ल्याएका यी विधि र प्रक्रिया अब अभ्यस्त भएका छन्। भविष्यमा यी संस्थागत संस्मरण हुने र कार्यकुशलता बढाउन अझ नयाँ प्रयोग बढ्दै जाने दाहालको विश्वास छ।