कोरोनाको असरले अझै ९.१ प्रतिशत उद्योग/व्यवसाय सञ्चालन हुन नसकेको राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ।
कोरोना नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीपछि आर्थिक क्रियाकलाप धेरै प्रभावित भएकोमा बन्दाबन्दी खुकुलाे हुँदै जाँदा सुधार हुँदै गएकाे राष्ट्र बैंकले जनाएको छ।
यसअघि असारको सर्वेक्षणमा सहभागी भएका उद्योगी व्यवसायीमध्ये करिब ९० प्रतिशतलाई पुनः सर्वेक्षणमा सहभागी गराएको राष्ट्र बैंकले औंल्याएको छ।
सर्वेक्षणअनुसार कोरोना महामारीअघिको तुलनामा गत असारमा ४ प्रतिशत मात्रै उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेकोमा मंसिरमा बढेर ५४ प्रतिशत पुगेको छ।
कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्रै रहेको उत्पादन/कारोबार स्थिति अहिले ५०.५१ प्रतिशत पुगेको सर्वेक्षणमा जनाइएको छ।
गत असारको तुलनामा उद्योग/व्यवसायले प्रदान गर्ने रोजगारीमा सुधार देखिए पनि महामारी अगाडिको अवस्थामा भने पुग्न नसकेको सर्वेक्षणमा जनाइएको छ।
गत असारमा ७७. ५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग/व्यवसायले मंसिरमा ८७. ५ प्रतिशत प्रदान गरेको सर्वेक्षणमा उल्लेख छ।
सर्वेक्षणमा सहभागीमध्ये धेरैले राष्ट्र बैंकको निर्देशनअनुसार ब्याजदरमा सहुलियत प्राप्त गरेको दावी गरिएको छ।
आकारअनुसार गत असारको तुलनामा मंसिरमा सबै प्रकारका उद्योग/व्यवसाय संचालन अवस्थामा सुधार आएको सर्वेक्षणमा जनाइएको छ। साना तथा मझौला उद्योगको तुलनामा ठूला उद्योगको संचालन अवस्थामा उल्लेख्य सुधार आएको जनाइएको छ।
सर्वेक्षणमा सहभागी अधिकांश उद्योग, व्यवसायीले कोभिड महामारीअघिको तुलनामा अहिले बस्तुको माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको, थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्याहरु बताएको राष्ट्र बैंकले जनाएको छ।