कोरोनाका कारण बजार अहिलेसम्म सामान्य अवस्थामा फर्कन सकेको छैन। यो हप्तादेखि स्कुल र कलेज समेत खुलेको छ, जस्ले गर्दा बजार पुरानै गतिमा चलेजस्तो देखिन्छ।
मानिसहरूको भिड सर्वत्र देखिन थालेको छ। व्यवसायीहरू भने बजारले गति नलिएको बताएका छन्। लामो समय लकडाउनले थलिएको व्यापार, व्यवसायमा तत्काल पहिलाकै स्थितिमा फर्कन नसक्ने उनीहरुको ठम्याइ छ।
यसै विषयमा काठमाडौंमा मात्र करिब डेढ दर्जन कपडा शोरुम संचालन गरेका तथा अन्तर्राष्ट्रिय ब्राण्ड लुई फिलिप, इण्डियन टेरेन, द मिलानो जस्ता दर्जनौं विदेशी ब्राण्ड भित्र्याउने आरपी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक रुपेश पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंशः
अहिले बजार सम्पूर्ण रूपमा खुलेपछि व्यवसायको अवस्था कस्तो छ ?
बजार खुल्नु र पसलका सटर खुल्नु निकै फरक हुँदो रहेछ भनेर हामीले पनि यो कोरोनाको महामारीपछि विस्तारै बुझ्दै छौं। तपाईंले भनेको जस्तो बजार खुलेको छैन। अहिले त पसलहरूमात्र खुलेका छन्। ती पसलमा एक त ग्राहक पसेकै छैनन्, पसे पनि तिनले सामान किनेका छैनन्।
थोरै व्यक्तिले मात्र आफ्नो किनमेल सुरू गरेका छन्। त्यसैले अहिले खाद्यान्न र औषधिबाहेक अन्य बजार खुलेर पनि खुलेजस्तो अनुभव भएको छैन। भन्नुको मतलब, व्यापार-व्यवसायको अवस्था सुध्रिन सकेको छैन। बैंकबाट ऋण लिएर चलाउनेको अवस्था त एकदमै नाजुक भएको छ।
ऋण नै नभएका त व्यापारी नै हुँदैनन्। घरबेटीले घरको भाडामा कुनै प्रकारको राहत दिएका छैनन्। न ती घरबेटीलाई बैंकले वा सरकारले कुनै राहत दिएको छ। कम पुँजी भएका व्यापारीहरू आ–आफ्नो पेसाबाट पलायन हुँदैछन्। जति बसेका छन् ती पनि एकदमै असहज अवस्थामा आफूलाई सकभर घिसार्दै बसेका छन्। बजारको अवस्था कमजोर छ, यसले हाम्रो आर्थिक अवस्थालाई नै दूरगामी असर पार्ने निश्चित देख्छु।
सरकारले लकडाउन खोलेको महिनौंपछि पनि किन बजार चलेन?
बजार चल्न मानिसले बजारमा पैसा खर्च गर्नुपर्छ। अहिले अधिकांश मानिस पैसा खर्च गर्ने मुडमा छैनन्। धेरैको आम्दानीको श्रोत सकिएको छ, धेरैको तलब आएको छैन र कतिले आधा तलब पनि पाएका छैनन्। धेरै नेपालीले आफूले जम्मा गरेर राखेको पैसा बिहे, ब्रतबन्ध, गुन्युचोली आदिमा खर्च गर्थे।
तर यो वर्षदेखि के देखियो भने मानिसहरू ठूलो समूहमा जान नचाहने र बिहे, ब्रतबन्ध हुँदा पनि निकै कम मानिस जम्मा भएर चलन मात्र पुर्याउने व्यवहार देखियो।
यसो हुँदा नयाँ कपडा, गरगहना, इलेक्ट्रोनिक्स सामान आदिको बिक्रीमा पनि निकै असर पर्यो। घर–घरमा हुने बर्थडे, एनिभर्सरी, पूजा आदिमा निकै कमी आयो। हुँदा हुँदा साथीभाइ बोलाएर रमाइलो गर्ने चलन समेत करिब सकियो। यस्तो अवस्थामा पसल मात्र खुले, बजार चलेन।
यस्तो अवस्थामा सुधार कसरी ल्याउन सकिन्छ होला? तपाईंको केही सुझाव छ?
यस्तो अवस्था आउन मुख्यतः दुइटा कारण छन् जस्तो लाग्छ। पहिलो त मानिसमा आत्मविश्वास आउनु पर्यो। भविष्यमा मेरो आर्थिक अवस्था अहिलेभन्दा कमजोर हुँदैन भन्ने सोच विकसित हुनु पर्यो। कोरोनापछिको अवस्थामा आर्थिक रूपमा मानिसको आत्मविश्वास अत्यन्त कमजोर भएर गएको देखिन्छ।
हिजोसम्म ५० हजार रूपैयाँ कमाउनेले ४५ हजार खर्च गर्थ्यो। किनकी उसलाई विश्वास थियो, उसको आम्दानी बढरै जान्छ, घट्दैन। अहिले ५० हजार कमाउनेको कमाइ नै घटेको छ। नघटेको भए पनि अब पहिलेजस्तै एउटा गतिमा बढ्दै जान्छ भन्ने विश्वास छैन। त्यसैले आम्दानी ५० हजार भएकै व्यक्तिले पनि अब २५–३० हजारमा सबै खर्च पुर्याउने कोशिस गर्न थालेको छ।
दोस्रो कारण, अतिरिक्त कमाइ कम हुनु। बजार गतिशील हुँदा सबैले केही न केही थप कमाइ गरिरहेका हुन्छन्। तर बजार गतिशील नहुँदा यस्तो थप कमाइ हुँदैन।
अर्थशास्त्रले भन्छ नि, अतिरिक्त कमाइ भयो भने मान्छेले लक्जरी अर्थात् विलासीका सामानमा पैसा खर्चिन्छ। तर कमाइ घट्ला भन्ने चिन्ता भयो भने मान्छेले एक कप चिया खान पनि सोच्छ। हप्तामा एकपल्ट परिवारलाई लिएर रेष्टुरेन्ट जाने व्यक्ति महिनामा एकपल्ट जाने पनि आँट गर्दैन।
सुधारका लागि के गर्ने त भन्दा आत्मविश्वास बढाउनु पर्यो। सके सरकारले सहयोग गर्नु पर्यो। अमेरिका, युरोपमा सरकारहरूले खर्बौ रूपैयाँ जनतालाई त्यसै बाँडेका छन्। त्यसले गर्दा उनीहरूमा अतिरिक्त कमाइको भावना जाग्रित हुन्छ। नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले ३० खर्ब (३ ट्रिलियन युएस डलर) को 'स्टिमुलस प्याकेज' घोषणा गरेका छन्। हाम्रो देशमा त्यस्तो तरिकाले आत्मविश्वास जगाउन सकिँदैन।
तर, भ्याक्सिन चाँडो ल्याउने, सरकारले खर्च गर्ने आयोजनामा सकभर ढिलाइ नगर्ने, आफ्नो देशमा कसैले लगानी ल्याउन चाहेको छ भने उसका लागि के-के दिन सकिन्छ सबैथोक व्यवस्था मिलाउने आदि गरेर सकभर आत्मविश्वासको वातावरण बढाउनु पर्ने देखिन्छ।
सेयर बजार अहिले बढेर गएको छ। त्यसमा थप नीतिगत सहयोग गरेर बलियो बनाउने। रियल–स्टेटमा अपार्टमेन्ट सिस्टमका घरमा विदेशी लगानी आउने वातावरण बनाउने आदि जस्ता धेरै काम गर्नुपर्छ। पर्यटनले विदेशी मुद्रा ल्याउँछ, त्यसलाई कसरी पुनर्जीवित गर्ने जस्ता काममा ध्यान दिनुपर्छ।
धेरै मानिसलाई अब कोरोनाको दोस्रो लहर आउँछ भन्ने डर छ। त्यसैले पनि उनीहरू निर्धक्क हुन सकेका छैनन्। अहिले नै दैनिक करिब आधा दर्जन मानिसको ज्यान गइरहेको छ। यस्तो अवस्थामा भ्याक्सिन ल्याउन सरकारको पहल सशक्त र सफल हुनुपर्छ।
बजारमा पैसा छैन भन्नुहुन्छ। तर नेपालमा आउने रेमिट्यान्स त घटेको छैन नि?
सरकारी तथ्यांक हेर्दा विदेशबाट आउने रेमिट्यान्समा कमी आएको देखिएको छैन। तर त्यो तथ्यांकमा पनि केही कैफियत देखिन्छ। हाम्रो वास्तविक रेमिट्यान्स बढेको होइन। पहिले पहिले धेरै रेमिट्यान्स सरकारी बाटोबाट नआएर सिधै सामान आयात गर्न दोस्रो बाटोबाट चीन पुग्थ्यो, जुन अहिले रोकिएको छ।
त्यसैले मात्र रेमिट्यान्समा सुधार आएको देखिएको हो। फेरि अब आउने रेमिट्यान्सलाई पाउने व्यक्तिले अतिरिक्त आयको रूपमा हेरेको छैन। अहिले आएको रेमिट्यान्स करिब अन्तिम हुनसक्ने आशंका छ। त्यसैले सो पैसा पनि बजारमा पुगेको छैन।
सबैले बैंकमा नै राखेका छन्। त्यसको प्रमाणका रूपमा अहिले बैंकमा तरलता कसरी बढेको छ, त्यसको अध्ययन गर्नुपर्छ। कामधन्दा, व्यापार–व्यवसायमा पैसा नलागेपछि सबै बैंकमा थुप्रिन पुग्छ। अहिलेको अवस्था त्यस्तै देखिएको छ। कसैले नयाँ कामका लागि ऋण लिन इच्छा देखाएको छैन।
सरकारलाई के सुझाव दिन चाहनु हुन्छ?
अहिले राजनीतिमा पनि समस्या देखिएको छ। कुनैबेला एकछत्र पाँच वर्ष शासन गर्छ भनेको नेपाल कम्युनिस्ट पार्टीमा आएको विभाजनले राजनीतिक तरलता पनि बढेर गएको छ।
यस्तो अवस्थामा सरकारले मात्र होइन, प्रमुख राजनीतिक दलले पनि आर्थिक क्षेत्रको आत्मविश्वास बढाउने काम गर्नुपर्छ। अर्थतन्त्र सरकारको मात्र जिम्मेवारी होइन, सबै राजनीतिक दलहरूको पनि हो। त्यसैले सबभन्दा पहिले सरकारको विरोधका कार्यक्रम राखिँदा बजार बन्द गर्ने वा हिंसात्मक विरोध गर्ने सोच नहोस् भन्ने चाहना हो।
सरकारको हकमा अहिले केबल कर कसरी बढाउने भन्ने मात्र सोच राखेर पुग्दैन। सरकार संचालनमा हुने खर्चमा मितव्ययीता अपनाउनुपर्छ तर सरकारले बजारलाई गतिशील बनाउन चाहिने खर्च गर्नुपर्छ।
यो अत्यन्त संवेदनशील कुरा हो। सरकारका मन्त्री, सचिव, महानिर्देशकहरूले नयाँ मोटर किन्ने, विदेश भ्रमण गर्ने वा आफ्ना कार्यालयमा महँगा फर्निचर किन्ने काम गर्नु हुँदैन। तर बाटो, पुल, नहर, स्कुल, हेल्थ सेन्टर जस्ता स्थानीय स्तरमा हुने काममा पैसा खर्च गर्नुपर्छ। यस्ता कामले तल्लो तहमा जनताले काम पाउँछन् र तिनको आम्दानी स्थिर हुन्छ। साथै विकास निर्माणका कामले अरू आर्थिक क्रियाकलाप बढ्न सहयोग पुग्छ।
सरकारले निजी क्षेत्रलाई पनि कोरोनाको भ्याक्सिन किनेर एउटा निश्चित रकममा जनताले किन्न पाउने अवस्था सिर्जना गरिदियो भने पनि भ्याक्सिन लगाउनेको संख्या चाँडै बढेर जान्छ। अनि एक प्रकारको आत्मविश्वासको संचार हुन्छ। यदि सबैलाई भ्याक्सिन लगाउने काममा अर्को एक वा दुई वर्ष लाग्ने अवस्था आयो भने त्यति बेलासम्म पनि बजारले गति लिन सक्ने अवस्था हुँदैन।