खाद्य संस्थानले दसैँका लागि भोलिबाट खसी–बोका र च्याङग्रा बेच्ने भएको छ।
संस्थानका अनुसार आजसम्म ३ सय तराईका खसीबोका र ५ सय हिमाली च्याङ्ग्रा काठमाडौं भित्रिएका छन्। बाँकी खसी बोका आउने क्रममा रहेको संस्थानका प्रवक्ता शङ्कर सापकोटाले जानकारी दिए।
यस वर्ष संस्थानले १ हजार खसीबोका र १ हजार च्याङ्ग्रा गरी जम्मा २ हजार ल्याउने भएको छ। अघिल्लो वर्ष पनि संस्थानले एक हजार खसीबोका र एक हजार च्याङग्रा ल्याएको थियो। संस्थानले जिउँदो खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने बताएको छ।
च्याङ्ग्रा प्रतिकिलो ७ सय १० र खसीबोका ५ सय १० मा बेचिने प्रवक्ता सापकोटाले जानकारी दिए। एकैपटक ल्याउँदा ढुवानीमा समस्या हुने र क्षतिको खतरा हुने भएकाले चरणबद्ध रुपमा ल्याउन लागिएको प्रवक्ता सापकोटाले बताए।
दसैँलाई लक्षित गरेर संस्थानले काठमाडौंमा हरेक वर्ष प्रचलित मूल्यभन्दा केही छुट दिएर खसी, बोका र च्याङ्ग्रा विक्रि गर्दै आएको छ। ‘दसैँका बेला व्यापारीहरुको कालोबजारी नहोस्, मूल्य नियन्त्रणमा होस् भन्ने हाम्रो उद्देश्य हो’ सापकोटाले भने।
उनका अनुसार काठमाडौं भित्रिने खसीबोका र च्याङ्ग्रा खाद्य संस्थानको बागमती अञ्चल कार्यालय थापाथलीबाट बिक्री वितरण हुनेछ।