प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको बुटिक विमानस्थल बनाउन नागरिक उड्डयन प्राधिकरणले आठ करोड बजेट छुट्याएको छ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिकको रुपमा २०७६ को बैशाख १ मा उद्घाटन गर्ने प्रधानमन्त्रीले यसअघि नै घोषणा गरिसकेका छन्।
उनको घोषणाअनुसार काम गर्नका लागि प्राधिकरणले पारित बजेटबाटै खर्च गर्नेगरी उक्त बजेट विनियोजन गरेको हो। प्राधिकरणले चालु वर्षका लागि ल्याएको बजेटबाटै खर्च बेहोर्नेगरी अनुमानित बजेट प्रक्षेपन गरेको हो। प्राधिकरण संचालक समितिले यसअघि नै पारित गरेको थियो।
प्राधिकरणले नेपाली परम्परागत शैली झल्किनेगरी विमानस्थलको स्वरुप निर्माण गर्ने तयारी गरेको छ। त्यसका लागि भद्दा देखिने व्यावसायिक विज्ञापन हटाउने, नयाँ कार्पेट राख्ने, टर्मिनल भवनको रंगरोगन गर्ने, टर्मिनलभित्र आँखीझ्याल राख्नेजस्ता काम गर्ने प्राधिकरणको तयारी छ।
यत्रो काम गर्न प्राधिकरणले विद्यमान सार्वजनिक खरिद व्यवस्थाअनुसार घोषित मितिमै काम गर्न कठिन हुने बताएपछि प्रधानमन्त्रीकै सल्लाहमा तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बुटिक विमानस्थल निर्माण तथा सञ्चालनका लागि कार्यविधि बनाउन अग्रसरता लिएका थिए।
हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन भएपछि उक्त पकार्यविधि मन्त्रिपरिषद्मै थन्किएको थियो। गएको सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त कार्यविधि पारित गरेको थियो।
कार्यविधिअनुसार बुटिक विमानस्थल बनाउन छोटकरी प्रक्रिया अपनाइने छ। सानो खरिदका लागि सिधै खरिद गर्ने उक्त कार्यविधिमा रहेको छ। त्यस्तै एक करोड रुपैयाँमाथिको खरिदका लागि १० दिने सूचना निकाल्ने र एक करोड मुनीका लागि ५ दिने सूचना निकालेर खर्च गरिने प्रस्ताव गरिएको छ।
राजनीतिक तहबाट टेन्डर नै नगरी खर्च गर्ने कार्यविधि बनाउने प्रस्ताव गरेपनि तत्कालिन पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले त्यसमा असहमति जनाएका थिए।
यद्यपी कार्यविधि नबन्दै प्राधिकरणले भने बुटिक विमानस्थल बनाउनका लागि काम शुरु गरिसकेको जनाएको छ। प्राधिकरणले अघिल्लो सातामात्र टर्मिनल भवनमा रंगरोगन गर्न टेन्डर प्रकाशित गरिसकेको छ। त्यस्तै विमानस्थल परिसरका व्यावसायिक विज्ञापन हटाइसकेको छ।