काठमाडौंको त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानले साँघुरो भएको भन्दै सरकारले प्रत्येक वर्षजसो वैकल्पिक आन्तरिक विमानस्थल बनाउने घोषणा गर्दै आएको छ।
अघिल्लो वर्षमात्र काभ्रेको नागीडाँडामा विमानस्थल बनाउने भन्दै २५ करोड रुपैयाँ बजेट पनि विनियोजन गरिएको थियो। वर्षौदेखि उपत्याका आसपासमा सम्भाव्यता अध्ययन गर्दै आएको नागरिक उड्डयन प्राधिकरणले सबभन्दा उपयुक्त भनेको ठाउँ नागीडाँडामै प्राविधिकरूपमा सम्भव नहुने बताइसकेको छ। फेरि आगामी वर्षको नीति तथा कार्यक्रममा उपत्यका नजिकै वैकल्पिक आन्तरिक विमानस्थल बनाउने घोषणा गरिएको छ।
काठमाडौं विमानस्थलको क्षमता विस्तार र निजगढ विमानस्थल निर्माणको काम नगरी सरकारले अर्बौं रुपैयाँ लगानीमा नयाँ विमानस्थल बनाउने भन्दै प्रत्येक वर्ष नीति कार्यक्रम तथा बजेटमा घोषणा गर्दै आएको छ। जसलाई यो वर्ष पनि निरन्तरता दिइएको छ।
ठूला र अत्यावश्यकीय आयोजना निर्माणमै बजेट अपुग भइरहेको अहिलेको सन्दर्भमा सुविधासम्पन्न एयरपोर्टको रूपमा वैकल्पिक विमानस्थलको ‘भूत’ले सरकारलाई छाडेको छैन।