आर्थिक वर्ष सकिनै लाग्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा आर्थिक वर्ष २०७५/०७६ का लागि छुट्याइएको कूल बजेटको १० प्रतिशत मात्रै खर्च हुन सकेको छ।
नगरपालिकाले छनोट गरेको योजनाहरूमध्ये अधिकांश योजनाको काम सम्पन्न हुन नसक्दा १० प्रतिशत बजेटमात्रै खर्च हुन सकेको छ।
क्षिरेश्वर नगरपालिकाका प्रमुख योगेन्द्र पजियारका अनुसार नगरपालिकाले छनोट गरेको १ सय ५० वटा योजनामध्ये आर्थिक वर्ष सकिन दुई महिनाभन्दा पनि कम समय बाँकी रहेको समयमा १० वटा योजनामात्रै पूरा हुन सकेको छ। उनले एक सय वटा योजनामा धमाधम काम भइरहेको दाबी गरे।
क्षिरेश्वरनाथ नगरपालिकाका लागि आर्थिक वर्ष २०७५/०७६ मा कूल ५१ करोड बजेट छुट्याइएको छ।
कुल बजेटमध्ये राजस्व बाँडफाँट र सम्मानीकरणमा २२ करोड, सामाजिक सुरक्षा, तलब, राष्ट्रपति चुरे संरक्षण सशर्तमा २९ करोड बजेट राखिएको छ।
नगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानीलाई लक्षित गरी कार्यक्रमहरू चलाएको छ। अधिकांश योजनाहरू वडास्तरीय रहेको नगरपालिकाका प्रमुख पजियारले बताए।
यसै गतिमा काम भयो भने नगरपालिकाको कुल बजेटको ८० प्रतिशत रकम अर्थात् ४० करोड ८ लाख रुपैयाँ फ्रिज हुने खतरा रहेको छ।
यद्यपी प्रमुख पजियारले एक सय वटा योजनामा धमाधम काम भइरहेकोले ७५ प्रतिशत बजेटको सदुपयोग गर्ने दाबी गरे।
कर्मचारी अभाव प्रमुख समस्या
क्षिरेश्वर नगरपालिकाका प्रमुख पजियारले योजनाहरू अहिले पूरा हुन नसक्नुमा कर्मचारी अभाव प्रमुख कारक रहेको बताए।
७२ वटा कर्मचारी दरबन्दी रहेको नगरपालिकामा १२ जना कर्मचारीमात्रै कार्यरत छन्।
नगरपालिकामा एक जना शिक्षा अधिकृतसहित ६ जना सचिव, जिल्ला समन्वय समितिबाट आएका ३ जना, एक जना सहलेखापाल, कृषि, पशु र स्वास्थमा एक/एक जना कर्मचारी कार्यरत छन्।
प्रमुख पजियारले सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी व्यवस्थापनका लागि पटक पटक तागेता गरे पनि अहिलेसम्म कर्मचारीको दरबन्दी अनुसारको पूर्ति हुन नसकेको गुनासो गरे। उनले कर्मचारी अभाव भए पनि योजनाहरू सफल बनाउनका लागि आफूहरू अहोरात्र खटिरहेको बताए।