लोमान्थाङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र ईलाका संरक्षण कार्यालय लोमान्थाङको संयुक्त आयोजनामा मुस्ताङको लोमान्थाङमा लोमान्थाङ महोत्सव हुने भएको छ।
आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जेठ १६ देखि १९ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिइएको हो।
‘गुफामै बसौं, गुफामै खाऔं, गुफामै रमाऔं’ भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागेको लोमान्थाङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुशीलकुमार अर्यालले जानकारी दिए।
उनले महोत्सवमा याक सवार कोराला नाका भ्रमणको अवसर, गुफामा बस्ने खाने अवसर, साँस्कृतिक कार्यक्रम, खेलकूदमा रमाउन पाइने बताए ।
महोत्सवमा घोडा दौड प्रतियोगिता, होर्तो प्रतियोगिता, तीर हान्ने प्रतियोगिता, स्थानीय खाना उत्सव लगायतका कार्यक्रमहरू मौलिक रूपमै गरिने उनले बताए।
महोत्सव सम्पन्न गर्न करिब १८ लाख खर्च लाग्ने बताइएको छ।
तीन दिने महोत्सवमा २० हजारले अवलोकन र करिब २ करोडको कारोबार हुने आयोजकको अनुमान छ।
महोत्सव सफल पार्न लोमान्थाङ गाउँपालिका अध्यक्ष सुवर्णकुमार विष्टको संयोजकत्वमा २५ सदस्य महोत्सव मूल आयोजक समिति गठन गरिएको बताइएको छ।