नेपालका लागि जापानी राजदूत मासामिची साइगोले विरगञ्जस्थित बहुराष्ट्रिय कम्पनी ‘केएनपी जापान’को स्थलगत अवलोकन गरेका छन्।
राजदूत मासामिचीले उद्योगको उत्पादनको अवस्था र आगामी योजनाहरुका बारेमा जानकारी लिएको कम्पनीले बताएको छ।जापान, भारत र नेपालका लगानीकर्ताको साझेदारी रहेको सो उद्योगले नेपालको पेन्ट बजारमा गरेको प्रगतिको राजदूत साइगोले प्रसंशा गरे।
कम्पनीका निर्देशक अशोककुमार वैदले नेपालमा पेन्ट उद्योगको सम्भाव्यता राम्रो भए पनि बहुराष्ट्रिय कम्पनीको रुपमा रहेको यो उद्योगले ट्रेडमार्कको समस्या झेल्दै आउनु परेको बताए।
राजदूत साइगोले उद्योगले भोगिरहेको ट्रेडमार्कको समस्याको समाधानका बारेमा जापानी दूतावासले पहल गरिरहेको बताए। समस्याले निकास नपाएसम्म यो प्रयासलाई निरन्तर जारी राख्ने आश्वासन पनि उनले दिए।
जापानी दूतावासका प्रथम सचिव ताकासी मियाताको समेत सहभागिता रहेको अवलोकनका क्रममा उद्योगका प्रबन्धक अजय गौडले उत्पादनका विविध पक्षका बारेमा जानकारी दिए।