यस आर्थिक वर्षको १० महिनामा १० हजार भन्दा धेरै ट्याक्सी कारवाहीमा परेका छन्।
मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने १० हजार ७ सय ८७ ट्याक्सी चालक कारवाहीमा परेको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
महाशाखाले चलाएको ‘हाउ मच’ अभियान र ‘डाइरेक्ट रिपोर्टिङको आधारमा यी ट्याक्सी चालकलाई कारबाहीको दायरामा ल्याइएको महाशाखाका प्रवक्ता जयराज सापकोटाले जानकारी दिए।
‘हाउमच’ अभियान अन्तर्गत सादा पोशाक लगाएका ट्राफिक प्रहरी ट्याक्सीको अनुगमनमा जान्छन्। ट्याक्सीले मिटरमा जान नमानेर बार्गेनिङ गर्न खोजे कारबाहीको दायरामा ल्याउँछन्।
‘हाउ मच’ अभियानको लागि महाशाखाले दैनिक ४० जना सादा पोशाकका ट्राफिक प्रहरी सडकमा खटाउने गरेको छ। मिटरमा जान नमान्ने ट्याक्सी चालकलाई महाशाखाले ३ हजार जरिवाना लगाउने गरेकोे प्रवक्ता सापकोटाले जानकारी दिए।
ट्याक्सीलाई मर्यादित बनाउन महाशाखाले अनुगमन गरिरहने उनले बताए। ‘ट्याक्सीको भाडा समायोजन भइसकेकाले हामीलाई अब कारबाही तिब्र बनाउन पनि सहज हुन्छ’ उनले सेतोपाटीसँग भने ‘ट्याक्सी चालकलाई व्यवसायप्रति जिम्मेवार बनाउन मन्त्रालय, विभाग, महानगर सबै निकायसँग समन्वय गरेका छौँ।’
हाल करिव १ हजार ४ सय ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थापन मिलाइरहेका छन्।उपत्यकाको ट्राफिक व्यवस्थापन मिलाउन करिव १ हजार ७ सय ट्राफिक प्रहरी चाहिने सापकोटाले बताए।
महाशाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ को वैशाखसम्म ३५ हजार ६ सय ४० ट्याक्सी चालक कारवाहीमा परेका छन्।
जसमा सबैभन्दा थोरै आर्थिक वर्ष २०७२/७३ मा २ हजार ७ सय ९५ जना र सबै भन्दा धेरै आर्थिक वर्ष २०७५/७६ (वैशाखसम्म)मा १० हजार ७८७ ट्याक्सी चालक कारवाहीमा परेका हुन्।
आर्थिक वर्ष | कारबाहीमा परेका चालक संख्या |
२०७०/७१ | ४,०७२ |
२०७१/७२ | ५,३४० |
२०७२/७३ | २,७९५ |
२०७३/७४ | ४,५१८ |
२०७४/७५ | ८,१२० |
२०७५/७६ (वैशाखसम्म) | १०,७८७ |
कुल | ३५,६४० |