सरकारले भन्सार विभागका कार्यरत कर्मचारीहरुलाई भत्ता दिनका लागि १० करोड ३२ लाख ७० हजार रुपैयाँ रकमान्तर गरेको छ।
चालु वर्षको बजेटबाट निजामति कर्मचारीहरुका लागि भत्ता कटौति गरेको सरकारले पछि आएर दिने निर्णय गरेको थियो। बजेटबाट भत्ता कटौति गरिएकाले अहिले अन्य शिर्षकमा रहेको बजेट रकमान्तर गरिएको हो।
सरकारले भत्ता कटौति गर्दा भन्सार तथा आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरुले काम गर्नै छाडेका थिए। कर्मचारीहरुको दबाबमा आएर सरकारले भत्ता दिने निर्णय गरेको थियो।
आर्थिक वर्षको ११ औ महिनामा सरकारले ५ अर्ब ५० करोड रुपैयाँ रकमान्तर गरेको छ। अर्थ मन्त्रालयका अनुसार विनियोजन भएको शिर्षकबाट खर्च हनु नसकी रहेको रकम अन्य शिर्षकमा पठाइएको हो।
सरकारले बेहलिया-बुटवल सडक खण्डका लागि ४० करोड बजेट रकमान्तर गरी पठाएको छ। त्यस्तै सरकारले गृह मन्त्रालयले खर्च गर्ने गरी द्वन्द पिडितहरुलाई दिन ३९ करोड दिएको छ।
सरकारले व्यापारिक राजमार्ग विस्तार आयोजनाका लागि १ अर्ब बजेट रकमान्तर गरी पठाएको छ।
पछिल्ले समय भएका वैदेशिक भ्रमण,उपचार खर्च तथा साहयताका नाममा पनि सरकारले थप बजेट दिएको छ।