सरकारले साउन १ गतेदेखि व्यवसायिक प्रयोजनाका मालसामान एक ठाउँबाट अर्को ठाउँमा ओसापसार गर्नुपूर्व मालसामानको विवरण राजस्व अनुसन्धान विभागमा अनलाइनमार्फत् दर्ता गराउने प्रकिया सुरू गर्यो।
तर त्यसको दुई दिनपछि सो व्यवस्थाविरूद्ध व्यवसायीहरू उत्रिएका छन्।
शुक्रबार सवारीसाधन ट्रयाकिङ सिस्टम तत्काल फिर्ता गर्नुपर्ने भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रदर्शन गरेको हो।
व्यवसायीले सो व्यवस्थाको विरोध गरेपछि बिहीबार पनि अर्थमन्त्री युवराज खतिवडाले प्रविधिबाट कोही भाग्न पाइँदैन, क्षमता विस्तार गर्ने हो भन्ने अभिव्यक्ति दिएका थिए।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय सदस्य परशुराम श्रेष्ठले भने, ‘जबसम्म भन्सारमा न्यून बिजकिरणको अन्त्य हुँदैन, नेपाल भारत खुला सीमाबाट चोरी पैठारी रोकिँदैन, आइटीमा सबैको पहुँच पुग्दैन तबसम्म यो सिस्टम कार्यान्वयनमा हुन सक्दैन।’
सो व्यवस्था तत्काल फिर्ता लिन र मूल्य अभिवृद्धि करमा समेत सरोकारवालाहरूसँग छलफल आवश्यक रहेको उनले जानकारी दिए।
सबै तस्बिरहरू : नारायण महर्जन/सेतोपाटी