चीनले नेपालमा साप्ताहिक उडान संख्या बढाउन खोजेको छ। पुनरावलोकनको क्रममा रहेको द्वीपक्षीय हवाई सेवा सम्झौतामा उडान फ्रिक्वेन्सी बढाउन प्रस्ताव गरेको हो।
वार्ताअघिको मस्यौदा आदानप्रदानबाट चीनले आफ्नो स्पष्ट अडानका रूपमा फ्रिक्वेन्सी बढाउन खोजेको छ।
नेपालले भने सम्झौताबाट दुवै देशका कुनै पनि पोइन्टमा एयरलाइन्सले उडान गर्न पाउने व्यवस्था थप गर्नुपर्ने प्रस्ताव राख्ने भएको छ। नेपाली पक्षको नेतृत्व गर्दै चीन जाने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले छलफलबाट सकेसम्म आपसी हितमै निर्णय गरिने जानकारी दिए।
नेपाली पक्षले चीनका कुनै पनि विमानस्थलमा नेपाल एयरलाइन्सले उडान गर्न पाउनेगरी सम्झौता पुनरावलोकनको प्रस्ताव राख्ने छ।
हालसम्म नेपाली एयरलाइन्सले चीनका सात वटा विमानस्थलमा उडान गर्न पाउँछन्। यसरी सीमित अवसर हुँदा जान चाहेको ठाउँमा नेपाली एयरलाइन्स जान नपाएको भन्दै सरकारले कुनै पनि विमानस्थलमा उडान गर्न पाउने व्यवस्थाका लागि पहल गर्ने भएको छ।
दुवै देशका एयरलाइन्सले कुनै पनि विमानस्थलबाट उडान गर्न पाउने भएपछि चिनियाँ एयरलाइन्सले पनि भैरहवा र पोखरा विमानस्थलमा उडान गर्ने पाउने छन्।
तर चिनियाँ पक्षको जोडबल भने नेपालमा उडान फ्रिक्वेन्सी बढाउनेमा रहेको छ। स्रोतहरूका अनुसार चीनले हप्तामा १०० उडान गर्न पाउनेगरी बुँदा थप गर्न प्रस्ताव गरेको छ। तर नेपाली पक्ष भने त्यति दिने पक्षमा रहेको छैन।
अहिलेको हप्ताको ७० उडानको सीमा चिनियाँ एयरलाइन्सले सबै सदुपयोग गरे पनि नेपाली एयरलाइन्सले उपयोग गर्न पाएका छैनन्।
हाल पाँच चिनियाँ एयरलाइन्सले सातामा ४६ पटक काठमाडौं उडान गरिरहेका छन्।
एयर चाइनाले छेन्दु- ल्हासा हुँदै काठमाडौं ३ र छेन्दु-काठमाडौं ७ उडान गरी सातामा १० उडान गर्छ।
चाइना इस्टर्नले कुनमिङ-काठमाडौं रूटमा दैनिक २ उडान (सातामा १४) उडान गरिरहेको छ। त्यस्तै, चाइना साउदर्नले पनि सातामा १४ उडान गर्छ। यसले ग्वाङजाउ-काठमाडौं उडान गर्छ।
त्यस्तै ल्हासा ट्रान्जिट बनाएर छेन्दुबाट काठमाडौं उडान गर्ने सिँचुवान एयरलाइन्सले पनि सातामा चार उडान गर्छ। छेन्दु-काठमाडौं रूटमा उडान गर्ने तिब्बत एयरलाइन्सले सातामा चार उडान गर्छ।
तर नेपाली एयरलाइन्सहरूले चीनका कुनै पनि विमानस्थलमा नियमित उडानको अनुमति पाएका छैनन्।