सरकारले ल्याएको सामान ढुवानीमा ट्रयाकिङ (भिसिटिएस) सिष्टम र योगदानमा आधारित सामाजिक सुरक्षा कोषविरूद्ध उत्रिएका रुपन्देहीका उद्योगी व्यवसायीले विरोधका कार्यक्रम स्थगित गरेका छन्।
भिसिटिएस सिष्टम र सामाजिक सुरक्षा कोषको विषयलाई लिएर सरकार र व्यवसायीका बीचमा उत्पन्न समस्या समाधानका लागि कार्यदल गठन गर्ने र कार्यदलको सुझावलाई सरकारले कार्यान्वयन गर्ने सहमति भएकोले विरोधका कार्यक्रम स्थगित गरिएको रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले जानकारी दिए।
रुपन्देहीका व्यवसायिक संस्थाहरूको साझा संस्था सञ्जाल रुपन्देहीको सोमबार बसेको निर्देशक कमिटीको बैठकले सरकार र व्यवसायीहरूका बीचमा कार्यदल गठन गर्ने सहमतिपछि तत्कालका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको हो।
सञ्जालको बैठकले कार्यदलले प्रतिवेदन बुझाउँदासम्मका लागि आन्दोलनका पूर्वघोषित कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।
देशभरका उद्योगी व्यवसायीसँगै रुपन्देहीका उद्योगी व्यवसायी पनि सरकारले ल्याएको सामान ढुवानीमा भिसिटिएस सिष्टम र योगदानमा आधारित सामाजिक सुरक्षा कोष अव्यवहारिक भएको भन्दै विरोधमा उत्रिएका थिए।
सरकारको उक्त कार्यको विरोध गर्दै सञ्जालले आइतबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले नेता बन्नका लागि आन्दोलन नगरी आफ्नो व्यवसायलाई विधि र पद्धतिमा लैजाने अभियानमा लाग्न व्यवसायीहरूलाई सुझाव दिएका थिए।
यसअघि सञ्जालले सोमबार बुटवलस्थित आन्तरिक राजस्व कार्यालय र राजस्व अनुसन्धान कार्यालयमा एक घण्टा धर्ना दिने कार्यक्रम तय गरेको थियो।
सञ्जालका विरोधका कार्यक्रम स्थगित गरिएसँग सोमबारका लागि तय गरिएका कार्यक्रम पनि स्थगित गरिएको हो।