ललितपुरको भनिमण्डलमा अवस्थित डिएभी कलेजले २००३ देखि शैक्षिक सेवा दिँदै आइरहेको छ।
सुरूआती दिनमा बिबिए र बिबिएसमात्र पढाइ हुने यस कलेजमा हाल त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त बिबिए, बिबिएस, एमबिएस र पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त एमबिएका कक्षाहरू सञ्चालनमा छन्।
कलेजले सुरूआती वर्ष देखिनै विद्यार्थीको समग्र विकासमा ध्यान दिएको डिएभी कलेजका प्रोग्राम इन्चार्ज रोजिस शाक्यले बताए।
‘किताब मात्र हेरेर हुँदैन। पढाइ सँगसँगै हामी विद्यार्थीको अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिइरहेका छौं,’ उनले भने ‘हामी विद्यार्थीलाई इन्डस्ट्री भिजिट, पव्लिक स्पिकिङ, बैंकिङ ट्रेनिङ, लोक सेवा तयारी कक्षा, सेमिनार, वर्कसप, सामाजिक काममा समेत प्रेरित गर्छौं।’
कलेजले यस्ता अतिरिक्त क्रियाकलापको लागि विभिन्न क्लबहरू बनाएको छ। सोही क्लब अन्तरर्गत विद्यार्थीहरूले काम गर्ने शाक्यले जानकारी दिए।
नेपालमै पनि राम्रो कलेज छ र यहाँका विद्यार्थीको उत्पादकत्व पनि राम्रो छ भनेर डिएभी कलेजका विद्यार्थीहरूले प्रमाणित गरिसकेको उनको दाबी छ।
यस कलेजमा हाल करिब ६ सय विद्यार्थी अध्यनरत छन्। कोर्ष पूरा गर्नका लागि कलेजले बिबिएको ७ लाख ३७ हजार, बिबिएम ५ लाख ५५ हजार, बिबिएसको २ लाख ५० हजारदेखि ३ लाखसम्म, एमबिएसको १ लाख ९० हजार र एमबिएको करिब ४ लाख ५० हजार शुल्क निर्धारण गरेको छ।
यो शुल्कमा पनि कलेजले विभिन्न छुट दिने गरेको शाक्यले जानकारी दिए। विद्यार्थीले पाएको जिपिएको आधारमा कलेजले विभिन्न स्किमहरू राखेको छ।