अर्थमन्त्री डा. युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउन निर्देशन दिएका छन्। आईतबारबाट ललितपुरमा सुरु भएको राजस्व व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै खतिवडाले करको दायरा विस्तार गर्न आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका हुन्।
अर्थमन्त्री खतिवडाले मुलुकको विकास, निर्माण र सामाजिक सुरक्षाको कार्यक्रमलाई दीगो र प्रभावकारी बनाउन आवश्यक आर्थिक व्यवस्था गर्न सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउनैपर्ने स्पष्ट पारे।
सरकारले सबै क्षेत्रको आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याएर राजस्व संकलन गरी निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षा र मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको उनको भनाइ छ।
‘हाम्रो उद्देश्य व्यवसाय गर्नेहरु बीचमा स्वच्छ, पारदर्शी प्रतिस्पर्धा रहोस्, मुलुकमा व्यवसायिक वातावरण बनोस्, लगानीको वातावरण बनोस्’उनले भने ‘ र स्वच्छ कर प्रशासनको माध्यामबाट राजस्व संकलन गरेर निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षाको व्यवस्था र विकास निर्माणको कामलाई अघि बढाउन सकियोस् ।’
राजस्व संकलन तीन वर्षयता सन्तोष गर्ने ठाउँमा रहेपनि उत्साहजनक नरहेकाले सरकारले सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने कामलाई जोड दिएको उनले बताए। स्वच्छ र पारदर्शी व्यवसाय आफूहरुको चाहना भएको भन्दै कोही पिन यसबाट भाग्न नमिल्ने खतिवडाको भनाइ छ।