निर्माणको जिम्मा लिने तर काम समयमै नगर्ने ठेकेदार कम्पनीको प्रवृत्तिले धेरै आयोजनाको अवधि लम्बिँदै गएको देखिन्छ।
कतिपय आयोजना अलपत्र अवस्थामा छन्। तिनै अलपत्र आयोजनाका कारण दुर्घटना भई सर्वसाधारणको ज्यान गएका उदाहरण पनि छन्।
सडक, पुल, हस्पिटल, जलविद्युत आयोजना सबैतिर समयमै काम नसक्ने प्रवृत्ति मौलाइरहँदा कर्णाली प्रदेश अस्पताल भने नमुना उदाहरण बनेको छ।
यो आयोजना तोकिएभन्दा सात महिनाअघि नै सम्पन्न भएको छ। वीरेन्द्रनगरमा बनेको प्रदेश अस्पतालको यो आधुनिक भवन आशिष एन्ड कन्टेक जेभीले बनाएको हो। कुल ४९ करोड ४४ लाख रुपैयाँमा आयोजना सम्पन्न भएको कन्स्ट्रक्सनका को–अर्डिनेटर ईश्वर आचार्यले जानकारी दिए।
‘आगामी माघ १८ गतेसम्मको अवधिमा सक्नुपर्ने भए पनि असार २० गते नै सम्पन्न गरी आयोजना कार्यान्वयन इकाई सुर्खेतलाई जानकारी गरायौँ’ उनले भने।
तीन वर्षमा सक्नेगरी अस्पताल बनाउन २०७३ माघमा कम्पनीले ठेक्का पाएको थियो। कुनै पनि आयोजनाको निर्माण कार्य ठेकेदार कम्पनीले चाहेर मात्रै समयमै सम्पन्न नहुने आचार्यको दावी छ।
‘मुख्यतः झन्झटिला सरकारी प्रक्रियाका कारण नै आयोजनाको अवधि लम्बिने गरेको हो’ उनले भने ‘अर्कोतर्फ निर्माण व्यवसायीहरु सबै कुरामा ठीक छन् भन्ने पनि होइन।’
आयोजनाको ठेक्का हडप्ने तर काम भने समयमै नगर्ने प्रबृत्ति व्यवसायीमा पनि रहेको उनले औंल्याए। निर्माण व्यवसायी र सरकारी निकायबीच समन्वय भई दुवैतर्फबाट कामकारबाही प्रभावकारी भएमा धेरै आयोजना समयमै सकिने उनको भनाइ छ।
संघीय आयोजना इकाई निर्देशनालय, भवन विभाग, स्वास्थ्य विभाग, इन्जिनियर सबै पक्षमा अस्पतालको भवन निर्माण कार्य जोडिएको बताउँदै उनले ती सबै पक्षबाट समयमै काम भएकाले निर्माण पनि समयमै सकिएको बताए।
‘तीन महिनाअघि नै आवश्यक पर्ने उपकरण तथा औजारहरु हामीले जुटाउँथ्यौँ, सम्बद्ध सबै सरकारी निकायलाई प्रक्रियागत काममा झकझक्यारहन्थ्यौँ’ उनले भने।
दैनिक दुई त कहिले तीन सिफ्टसम्म निर्माण काम भएको उनले बताए। आचार्यका अनुसार कुल १६ हजार ९४३ स्क्वायर मिटर (५० कठ्ठा) क्षेत्रफल भवनले ढाकेको छ।
पहिले साँघुरो भवनमा रहेको क्षेत्रीय अस्पताललाई अहिले आधुनिक बनाएर प्रादेशिक बनाइएको हो। अहिले ११५ बेडमा संचालन भइरहेको अस्पताल अब ३ सय बेडको हुनेछ। यद्यपी भवनको क्षमता भने १ हजार बेडसम्मको छ।
अस्पताल विकास समितिका अध्यक्ष श्याम कँडेलले ३ सय बेड संचालन गर्नेगरी कर्मचारीको दरबन्दी तथा स्रोतसाधन जुटाउनेगरी काम भइरहेको जानकारी दिए। ‘यहाँ आउने बिरामीको संख्या, स्रोत साधन पुग्नेगरी केही महिनामै ३ सय बेड संचालन हुन्छ’ उनले भने।
अहिले पनि अस्पतालमा आउने बिरामीको घुइँचो देखिन्छ। ‘आइतबार र सोमबार दैनिक ५ सय बढी बिरामी आउँछन्, औसतमा मासिक साढे ३ सय बिरामी आउने गरेको देखिन्छ’ कँडेलले भने। डोटी, अछाम, कैलाली, जाजरकोट तथा भारतबाट समेत यहाँ बिरामी आउने गरेका छन्।
हाल बहिरङ्ग सेवा, सिटी स्क्यान, आइसियु, एनआइसियू, हेमोडाइलासिस, फिजियोथेरापी, गाइनो, फिस्टुला सेवा अस्पतालले संचालन गरिरहेको छ। अब यी सेवालाई फराकिलो क्षेत्रमा, आधुनिक उपकरणमार्फत संचालनमा ल्याउने अस्पतालले जनाएको छ।
स्रोतसाधनले भ्याएसम्म न्यूरो सेवा र किड्नी बिरामीका लागि नेफ्रो सेवा थप्ने योजना रहेको अध्यक्ष कँडेलले बताए। ५ वर्षभित्रमा अस्पताललाई एकेडेमिक रुपमा संचालन गर्ने योजना रहेको उनले सुनाए।
अब कर्मचारीको दरबन्दी ५ सय बढी जरुरत पर्ने भए पनि हाल आधा समेत नरहेको उनले बताए।