त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी सेवालाई व्यवस्थित र भरपर्दो बनाउनका लागि विमानस्थल कार्यालयले पहल गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको निर्देशनअनुसार ट्याक्सी सेवालाई विश्वासिलो र सुरक्षित बनाउनका लागि प्रविधिको प्रयोग गरिने भएको हो।
यात्रुलाई सुरक्षित यात्रको प्रत्याभूति गर्नका लागि आवश्यक गृहकार्यको तयारी थालिएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
विमानस्थलको ट्याक्सी सेवा अत्यधिक महँगो भएको,भनेको ठाउँमा जान नमान्ने र अत्यधिक बार्गेनिङ गरेका कारण पर्यटकलाई झन्झट भएको भन्दै पर्यटन व्यवसायीले मन्त्रीको ध्यानाकर्षण गराएका थिए।
पर्यटनसम्बन्धी पेसा तथा व्यवसायीले ट्याक्सीले विमानस्थलमा लुटतन्त्र मच्चाएको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।
विमानस्थलको ट्याक्सी सेवालाई सुरक्षित र भरपर्दो बनाउनका लागि सेवाको गुणस्तर सुधार गरिने विमानस्थल कार्यालयले जानकारी दिएको छ।
त्यस्तै यात्रालाई सुरक्षित बनाउनका लागि जिपिएस ट्र्याकिङ सिस्टम जडान गरिने जनाइएको छ। यसअघि पनि ट्याक्सीमा जिपिएस जडान गर्ने भनिए पनि लागू हुन सकेको छैन।
पर्यटन मन्त्री भट्टराईले विमानस्थल सेवा सुधारका लागि कदम चाल्न निर्देशन दिएका छन्।
भ्रमण वर्षलाई सफल बनाउका लागि सस्तो हवाई यात्रा सुनिश्चित गर्न राति १२ बजेपछि उडान तथा अवतरण गर्ने जहाजका लागि ग्राउन्ड ह्यान्डलिङ चार्ज न्यून गर्ने, विमानस्थलले लिने अन्य शुल्कमा पनि छुट दिन मन्त्रीले निर्देशन दिएका छन्। विमानस्थलले नेभिगेशन सेवा शुल्क लिन्छ।
त्यस्तै नेपालमा हवाई इन्धनको मूल्य महँगो भएको एयरलाइन्सहरूले गुनासो गरेपछि मन्त्री भट्टराईले तत्काल मूल्य समायोजन गर्नेतर्फ तयारी गर्न निर्देशन दिएका छन्। उनले विमानस्थलमा रहेको आयाल निगमको डिपोमार्फत् निगमलाई मूल्य घटाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
त्यस्तै विमानस्थलमा उडान ढिला तथा स्थगन हुने अवस्था आएमा त्यसको तत्काल यात्रुलाई जानकारी दिनका लागि एप्लिकेशन बनाउन भट्टराईले निर्देशन दिएका छन्।