बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले संयुक्त अरब इमिरेट्सका राजदुत साईद हमदास अलनाकवीसँग भेट गरेका छन् । भेटमा अर्थमन्त्री खतिवडाले संयुक्त अरब इमिरेट्सलाई नेपालमा लगानीका लागि आह्वान गरेका छन् ।
भेटका अवसरमा अर्थमन्त्री खतिवडाले अरबसँग पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरे । नेपालको सिंचाई, ऊर्जा, भौतिक संरचना विकास, पर्यटन, कृषि जस्ता क्षेत्रमा प्रतिस्पर्धी लगानीको उपयुक्त वातावरण भएको अर्थमन्त्रीले बताए । मन्त्री खतिवडाले अरबमा नेपाल ताजा तरकारी, फलफूल, हिमालयनको पिउने पानीलगायतको वस्तुलार्ई नेपालले प्राथमिकतामा राखेर निर्यात गर्न सकिने स्पष्ट पारे ।
मन्त्री खतिवडाले आसन्न पर्यटन वर्षको लागि निमन्त्रणा पनि दिए । नेपालका अर्थमन्त्रीलाई संयुक्त अरब इमिरेट्सको भ्रमणको लागि त्यहाँका अर्थमन्त्रीको निमन्त्रणा रहेको बताउदै राजदूत अलनाकवीले नेपालको हवाई सेवा तथा अन्य क्षेत्रमा लगानी आकर्षित गर्न दोहोरो कर मुक्ती सम्झौता गर्न आवश्यक भएको बताए ।