गत आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारले विनियोजित बजेटको ५५.४६ प्रतिशत मात्रै खर्च गरेका छन्।
अन्तरसरकारी वित्त परिषदको बैठकमा अर्थ मन्त्रालयले प्रस्तुत गरेको विवरण अनुसार, आव ०७५/७६ मा सबै प्रदेशले कुल २ खर्ब ६ अर्ब ५८ करोड ९१ लाख बजेट छुट्याइएका थिए। त्यसमध्ये १ खर्ब १४ अर्ब ५७ करोड ९२ लाख मात्र खर्च गर्न सकेका छन्। यो प्रदेश सरकारले ल्याएको पहिलो बजेट थियो।
विवरण अनुसार सबै भन्दा कम खर्च गर्नेमा कर्णाली प्रदेश रहेको छ। कर्णाली प्रदेशले वर्षभरिमा जम्मा विनियोजित बजेटको ३५.१९ प्रतिशत अर्थात् ९ अर्ब ९५ करोड ३३ लाख मात्रै खर्च गर्न सकेको छ।
समीक्षा अवधिमा सबैभन्दा बढी खर्च प्रदेश ५ ले गरेको छ। प्रदेश ५ ले १९ अर्ब ५० करोड ८५ लाख खर्च गरेको छ। यो जम्मा बिनियोजित बजेटको ६३.४६ प्रतिशत हो।
त्यस्तै, ३ नम्बर प्रदेशले ६०.७१, सुदुरपश्चिम प्रदेशले ५९.५५ र प्रदेश १ ले ५९.११ प्रतिशत बजेट खर्च गरेको छ।
गण्डकी र प्रदेश नम्बर २ ले क्रमशः ५८.१० र ५०.६९ प्रतिशत खर्च गरेको विवरणमा उल्लेख छ।
अघिल्लो वर्ष बजेट खर्च गर्न नसकेकै कारण चालु आव २०७६/०७७ को बजेटमा सबै प्रदेशले त्यसैलाई मुख्य स्रोत बनाएर बजेट सार्वजनिक गरे।
चालु आवको लागि सबै प्रदेशले कूल २ खर्ब ५९ अर्बको बजेट ल्याएका छन्। अघिल्लो वर्ष विनियोजित बजेटको आधा मात्र खर्च गरेका प्रदेश सरकारले चालु आवमा भने २० प्रतिशत बढाएर बजेट विनियोजन गरेका छन्।