काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिजिटल कम्प्लेन बक्स निर्माण हुने भएको छ। सेवा/सुविधाका बारेमा यात्रुहरुले सहजै गुनासो गर्न पाउनेगरी त्यस्तो बक्स निमार्ण गर्न लागिएको विमानस्थलका महाप्रबन्धक राजक्रमा क्षेत्रीले जानकारी दिए।
सरकारी कार्यालयहरुमा हुने पत्रमञ्जुषाहरु खासै प्रयोगमा नआएकाले अब यात्रुहरुको गुनासो लिनका लागि डिजिटल प्लेटफर्म निर्माण गर्न लागिएको उनले जानकारी दिए।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ल्याएको कार्ययोजनाअनुसार यो काम पनि अघि बढाइएको हो। मन्त्रीसहित बिहिबार भएको छलफलमा डिजिटल कम्प्लेन बक्स बनाउने निर्णय गरिएको क्षेत्रीले जानकारी दिए।
'अहिले सबै यात्रुहरु डिजिटली साक्षर छन्। उनीहरु कागजमा पत्र लेखेर गुनासो राख्न रुचाउँदैनन। त्यसैले हामीले पनि डिजिटल डिस्प्ले राखेर सहजै कम्प्लेन गर्नसक्ने ठाउँ बनाउँदै छौ' क्षेत्रीले भने।
त्यसरी बन्ने डिस्प्लेमा यात्रुले सहजै लेख्न/भिडियो सन्देश छोड्न सक्ने छन्। यसरी छोडिएको सन्देश रियल टाइममा मन्त्रीसम्मले हेर्न पाउने छन्।
डिजिटल बक्स निर्माणको काम अबको ६ महिनामा सकिने क्षेत्रीको भनाइ छ। सार्वजनिक खरिदको नियम पालना गर्दै काम गर्दा केही समय लाग्ने उनको भनाइ छ।