संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सबै विमानस्थल सफा राख्न तथा उडानपूर्व जहाजभित्र तोकिएको मापदण्ड अनुसार औषधि छर्किने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
सोमबार मन्त्रालयमा आयोजित ‘डेंगीबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र यसको निराकरणको विषयक’कार्यक्रममा मन्त्री भट्टराईले मातहतका सबै निकायलाई सो निर्देशन दिएका हुन्।
साथै, नेपाल होटल संघ, रेष्टुरेन्ट व्यवसायी संघ, पर्यटक यातायात लगायत पर्यटकीय सेवा दिने विभिन्न निकायले आफ्नो क्षेत्र सफा राख्ने, पर्यटकलाई सुसूचित गर्ने तथा औषधिको समेत मापदण्ड अनुरूप गर्न/गराउन मन्त्री भट्टराईले निर्देशन दिए।
‘भ्रमण वर्ष–२०२०’ र नेपालको पर्यटन क्षेत्रमा यस रोगको कारणबाट पर्न सक्ने असर निराकरणका लागि आवश्यक तयारी तथा पूर्वसर्तकता अपनाउन सबै सरोकारवालाहरूलाई उनले निर्देशन दिए।
उनले खुला क्षेत्र रहेका तथा पर्यटकहरूको बढी उपस्थिति रहने पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र, जनकपुर क्षेत्र, पोखरा एवम् सौराहा लगायतका पर्यटकीय क्षेत्रमा सरसफाइ अभियान समेत चलाउन निर्देशन दिए।
उक्त छलफलमा मन्त्री, सचिव केदार बहादुर अधिकारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विशेषज्ञ प्रतिनिधि, गृह मन्त्रालयका प्रतिनिधि, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, नेपाल होटल संघ, वायुसेवा सञ्चालकका प्रतिनिधि, पर्यटन बस व्यवसायी संघ लगायतका पर्यटन तथा हवाई क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।