‘काबेली बी वान’ जलविद्युत् आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत् दसैंअगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भएको छ।
आयोजनाको निर्माण पूरा भएसँगै परीक्षण उत्पादन सुरू गरिएको छ।
दसैंअगावै काबेली करिडोरमार्फत् केन्द्रीय प्रसारण लाइनमा जोड्न आवश्यक तयारी भइरहेको आयोजना निर्माण कम्पनी अरूण काबेली पावर लिमिटेडका निर्देशक रमेश न्यौपानेले जानकारी दिए।
‘आयोजनाको काम सकिएर अहिले परीक्षण उत्पादन सुरू गरेका छौं, दसैंअगावै काबेली करिडोरमा जोड्ने हाम्रो तयारी छ’, निर्देशक न्यौपानेले भने।
ताप्लेजुङ र पाँचथरको सीमानामा बग्ने काबेली नदीबाट उत्पादन भएको विद्युत् पाँचथरको अमरपुरस्थित काबेली करिडोरको सवस्टेसनमा जोडिने छ।
नेपाल विद्युत् प्राधिकरणद्वारा अमरपुरमा केही दिन अघि मात्रै काबेली करिडोरको सवस्टेसन निर्माणको कार्यसमेत सम्पन्न भएको छ।
झण्डै रु पाँच अर्बको लगानीमा आयोजना सम्पन्न भएको हो। सुरूमा रु चार अर्बको लगानीमा सम्पन्न हुने अनुमान गरिए पनि बाढी, मूल्यवृद्धि, भारतीय नाकाबन्दी र आयोजनाको अवधि लम्बिएकाले लगानी पनि बढेर रु पाँच अर्ब पुगेको बताइएको छ।
कूल लागतको ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाले र बाँकी ३० प्रतिशत निजी क्षेत्रले लगानी गरेका छन्।
तीन वर्षमा नै निर्माण पूरा गर्ने गरी २०७२ साल वैशाखदेखि आयोजनाको निर्माण सुरू भएको थियो।
अघिल्लो वर्षमा नै निर्माण पूरा हुनुपर्ने भए पनि काबेली करिडोर निर्माणमा ढिलाइ भएकाले आयोजनाको अवधि लम्बिएको आयोजनाले जनाएको छ।
ताप्लेजुङको साविकका गाविस थुम्बेदिन, चाक्सिबोटे, साब्लाखु, सिनाम र पाँचथरका थर्पु, नागी, अमरपुर आयोजनाको प्रभावित क्षेत्र हुन्।