भारत सरकारले कर्पोरेट ट्याक्स घटाएपछि नेपाल सरकारले पनि नेपालमा पर्ने प्रभावका विषयमा छलफल गर्ने भएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले करको दर र दायराको विषयमा नेपाली व्यवसायीहरुसंग छलफल गर्ने बताएका छन्।
आइतबार राजधानीमा आयोजित नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको पहिलो बार्षिक साधारण सभालाई सम्बोधन गर्दै छिमेकी देशका सरकारले कर प्रशासनमा गरेको परिर्वतनले नेपालमा पार्ने प्रभावबारे व्यवसायीहरुसंग छलफल गर्ने बताएका हुन्।
छिमेकी राष्ट्र भारतले आर्थिक वृद्धिमा आएको संकुचनले लगानी बढाउन नसकिने निष्कर्ष निकाल्दै कर्पोरेट ट्याक्स घटाएको छ। भारतले ३० बाट झारेर २२ प्रतिशत र उत्पादनमुलक उद्योगका लागि २५ बाट १५ प्रतिशत मा झारेको छ।
यसबाट भारतीय सरकारले नागरिकको लगानी बाहिर नजाने र बाहिरको लगानी भारत भित्र ल्याउन सहयोग पुग्ने विश्वास लिएको बताईएको छ । भारत सरकारले करको दरहरु घटाए संगै नेपाल पनि दबाबमा पर्ने बताइएको छ।
छिमेकी राष्ट्रहरुले आफ्नो अनुकुलतामा करका दरहरुमा समायोजन गर्ने भएको हुँदा नेपाल सरकारले पनि त्यसको अध्ययन गर्ने र राजश्व वोर्ड छिटै गठन गरी कर प्रतिष्पर्धात्मकताका लागि व्यवसायीहरुसंग छलफल गर्ने खतिवडाले बताए।
खतिवडाले इमान्दार व्यवसायीले कर प्रशासनको कडाईबाट डराउनुनपर्ने बताए। दुईथरी व्यवसायी नभई प्रतिस्पर्धी व्यवसायी निर्माण गर्ने प्रयासमा सबै लाग्नुपर्ने भन्दै उनले कर्मचारी संयन्त्र भित्रका विकृतिबारे सरकारलाई सुचना दिई सहयोग गर्न व्यवसायीलाई आग्रह गरे।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नियमन र कर प्रशासनका नयाँ व्यवस्था कार्यान्वय गर्दा लगानीको वातावरण नबिग्रियोस् भन्ने तर्फ सरकार पनि सचेत हुनु पर्ने बताइन्। उनले नेपालमा गरिने विदेशी लगानी पूँजी वा प्रविधि भन्ने विश्लेषण गर्नुपर्ने आवश्यकता औल्याइन्।
कार्यक्रममा व्यवसायीहरुले भ्याटको थ्रेस होल्ड, बैक ब्याजदर तथा फूल अडिटको बर्ष बढाउने विषयमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।