जाजरकोटमा अवस्थित ४ सय १७ मेगावाटको नलसिंहगाड जलविद्युत आयोजना अघि बढ्ने भएको छ ।
जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र जापानी विकास नियोग (जाइका) का कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच बिहीबार भएको भेटवार्तामा उक्त आयोजनालाई अघि बढाउने विषयमा सहमति भएको ऊर्जामन्त्रीको सचिवालयले जानकारी दिएको छ।
मन्त्री पुनले उक्त परियोजनालाई अघि बढाउने विषयमा बुधवार जापानका संसदीय, परराष्ट्र, उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका ईता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसँग छलफल गरेका थिए।
भेटवार्तामा ऊर्जामन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका उच्च अधिकारी सहभागी थिए ।
ऊर्जामन्त्री पुनले जाइकाले पिपिपि मोडेलमा उक्त आयोजना अघि बढाउने गरी प्रस्ताव गरेको जानकारी दिए। उनकाअनुसार उक्त आयोजनालाई जाइकाले उच्च प्राथमिकतामा राखेको छ ।
‘जाइकासँगको छलफल अत्यन्तै सकरात्मक भएको छ, डिपिआरको अध्ययनलगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिवद्धता जनाउनुभएकोले पनि चांडै यसले मूर्त रुप पाउनेमा म आशावादी छु ’ मन्त्री पुनलाई उद्धृत गर्दै सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
त्यसका साथै छलफलको क्रममा जाइकाका उपाध्यक्ष कोशिकावाले नेपालको उर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिवद्धता समेत जनाएका छन्।
आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित विजुली बेच्नका लागि भारत र बंगलादेशसंग सम्झौता भइसकेको मन्त्री पुनको भनाई थियो । उनले उत्पादित विजुलीको लागी आन्तरीक र बाह्य बजार बनाउन सरकार सक्षम रहेको धारणा राखेका थिए।