करदाताले कर तिरेपछि पाउने प्रमाणपत्र लिन सरकारी कार्यालयमै पुग्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ। आन्तरिक राजश्व विभागले करदाताका लागि यस्तो सुविधा अनलाइनबाटै लिनसक्ने व्यवस्था गरेको छ।
लामो र झन्झटिलो प्रक्रियाको कारण नेपालको कर प्रणाली व्यवसाय मैत्री नभएको भन्दै अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीले निष्कर्ष निकालिरहेका बेला सरकारले कर तिर्ने प्रक्रियालाई सहज बनाउँदै लिएको छ।
करका काम पूरा गर्न अहिले कर कार्यालयमै पुग्नुपर्ने बाध्यता रहेको भन्दै व्यवसायीहरुले सहज बनाउन माग गर्दै आएका छन्।
डिजिटल प्रविधिबाट सहजीकरण गर्ने नीतिअनुसार तत्काल करदाताको लागि एक स्टेप सहज बनाइएइको छ। गत वर्षदेखि ठूला करदाता कार्यालयबाट यो सुविधा लागू गरिएको थियो।
करदाताले कर चुक्ता गरेपछि आन्तरिक राजश्व विभागको वेबसाइटमा रहेको ट्याक्सपेयर पोर्टलमा गइ आफ्ने कर चुक्ता प्रमाणपत्रका लागि आवेदन दिन सक्ने छन्।
यसरी आएको प्रमाणपत्रमा कर कार्यालयको छाप, पत्र संख्या र चलानी नम्बर भने नहुने आन्तरिक राजश्व विभागले प्रष्ट पारेको छ।