नेपालमा चिनियाँ लागनी सहजीकरणका लागि दुई देशले एउटा कार्यदल बनाउने भएका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणका क्रममा यस्तो कार्यदल बनाउने सैद्धान्तिक सम्झौता भएको हो।
नेपालको अर्थमन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच भएको यो सैद्धान्तिक सम्झौताअनुसार दुबै देशका प्रतिनिधिहरु रहने एउटा कार्यदल बन्ने छ। उक्त कार्यदलले नेपालमा हुने हरेक चिनियाँ लगानीका बारेमा छलफल गर्ने छ।
अर्थमन्त्रालयका अधिकारीहरुका अनुसार कार्यदलले साहयता,ऋण वा निजी लगानीका बारेमा पनि सहजीकरण गर्ने छ।
'लगानीका लागि सहजीकरण गर्ने नेपाल सरकारका अन्य एजेन्सीहरु पनि छन्। जसले प्राविधिक तहमा काम गर्छन्। तर नीतिगत तहमा कुनै समस्या भए वा बाधा आइपरे यो कार्यदलले टुंग्याउने छ। नेपालमा हुने चिनियाँ लगानीको सुरुवातिदेखि बीचमा हुने समस्याका बारेमा पनि यसले समाधानका लागि प्रयास गर्ने छ' मन्त्रालयका एक अधिकारीले भने।