नागढङ्गा सिस्नेखोला सुरुङमार्गको प्रवेशद्धार सम्म पुग्ने बाटोमा फ्लाइ ओभर बनाउन आवश्यक जग्गा अधिग्रहण गर्न सरकारले स्वीकृति दिएको छ।
कलंकी–थानकोट सडकखण्डको गुर्जुधारामा ६ सय १० मिटरको फ्लाई ओभर बन्ने भएको छ।
यसका लागि ११.०८ रोपनी जग्गा र ४७ घरटहरा अधिग्रहणको लागि सरकारले स्वीकृति दिएको हो।
सुरुङमार्ग निमार्ण आयोजना प्रमुख श्याम खरेललेअहिले चलिरहेको कलंकी–थानकोट सडकमा सुरुङमार्ग निमार्णले असर नगरोस भनेर फ्लाई ओभर बनाउन लागिएको बताए।
४२ महिनामा सुरुङमार्ग तयार
सुरुङमार्ग आयोजनाले सुरुङमार्ग निमार्ण कम्पनी र हाजमा अन्डो कर्पोरेसनलाई निमार्णको कार्यादेश दिएको छ।
गत कात्तिक २८ मा आयोजनाले कार्यआदेश दिएको आयोजनाप्रमुख खरेलले जानकारी दिए।
कार्यादेश पाएपछि निमार्ण कम्पनीको समय सुरु हुन्छ।
निमार्ण कम्पनीले ४२ महिनामा काम सक्नेगरी सम्झौता गरेको छ।
श्री ५ को वायु गुठीको मुअब्जा समस्या कायमै
आयोजनाले व्यक्तिगत नाममा रहेको जग्गाको मुअब्जा बाँड्ने क्रम सकेपनि सिस्नेखोलातर्फ पर्ने श्री ५ को वायु गुठीको जग्गाको मुअब्जा वितरण भने भएको छैन।
नियमानुसार गुठीको जग्गामा एक तिहाइ भोग चलन गर्ने र बाँकी दुई तिहाइसम्बन्धि गुठीको अधिकार हुन्छ।
तर, स्थानीयहरुले एक तिहाइ मुअब्जा नलिने अडानमा छन्।
आयोजनाले उक्त समस्या समाधान गर्न नसकेपछि मन्त्री परिषद्बाटै निर्णय गरेर मुअब्जा टुङ्गो लगाउने गरी स्थानीयसँग सहमति भएको छ।
तर, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट नियमनअनुसार नै मुअब्जा दिनुपर्ने भन्दै स्वीकृति नदिएपछि मन्त्री परिषद्मा उक्त प्रस्ताव जान सकेको छैन।
आयोजना प्रमुख खरेल त्यो समस्या पनि चाडै समाधान हुने बताउँछन्।