एक वर्षअघि नेपाल एयरलाइन्सको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीले झापाका मदन खरेललाई नियुक्त गरे। खरेल लामो समय नेपाल एयरलाइन्समै काम गरेर अवसका पाएका पनि हुन्।
नेपाल एयरलाइन्समै काम गरेका, व्यापार र व्यवस्थापन बुझेका खरेलबाट राष्ट्रिय ध्वजाबाहकको उन्नति हुने ओलीको विश्वास थियो। तर, उनको विश्वास १ वर्ष पनि टिकेन।
तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई ओभरटेक गरेर एयरलाइन्सको अध्यक्षमा खरेल नियुक्त गरेका प्रधानमन्त्री अहिले भने असन्तुष्ट छन्।
गएको असार १६ गते नेपाल एयरलाइन्सको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ओलीले नेतृत्वप्रति तीव्र असन्तुष्टी व्यक्त गरेका थिए।
लामो सयमदेखि ऋणको किस्ता तिर्न नसकेको, व्यावसायिक योजना बनाउन तथा कार्यान्वयन गर्न नसकेको भन्दै यही नेतृत्वलाई सरकारले सहयोग गर्न नसक्ने उनले प्रष्ट पारेका थिए।
राष्ट्रिय ध्वजावाहक भएकाले सरकार काँध थाप्ने तर आँखा चिम्लेर पैसामात्र दिन्छ भन्ने भ्रममा नपर्न व्यवस्थापनलाई उनले सचेत गराएका थिए।
प्रधानमन्त्रीले त्यसपछि एयरलाइन्सका विभिन्न अधिकारीहरुलाई बोलाएर आर्थिक तथा योजनाका बारेमा ब्रिफिङ पनि लिएका थिए।
‘मदन खरेललाई नेतृत्वमा निरन्तरता दिन उहाँ सकारात्मक हुनुहुन्न।
तर उहाँ नजिकका केही व्यक्तीले आफैले नियुक्त गरेका मान्छेलाई असक्षम भन्दै बर्खास्त गरेपछि नराम्रो सन्देश जाने भन्दै रोके। तर मन्त्रीहरु परिवर्तन गरेपछि खरेललाई राखिराख्न पर्छ भन्नेमा हुनुहुन्न’, प्रधानमन्त्री निकट स्रोतले भन्यो।
मन्त्री नियुक्त भएदेखि नै मदन खरेलको नेतृत्वबाट नेपाल एयरलाइन्सको गती बढ्दैन भन्दै आएका पर्यटनमन्त्री योगेश भट्टराई र प्रधानमन्त्री अहिले एकै ठाउँमा पुगेका छन्।
स्रोतका अनुसार खरेललाई स्पष्टिकरण सोध्ने र त्यसपछि सकेकस्म आफै राजिनामा दिएर बाहिरिन सन्देश दिने प्रधानमन्त्रीको मनसाय रहेको छ।
‘यदी खरेलले राजिनामा नदिए कानूनी बाटोका लागि पर्यटन मन्त्रालयले तयारी अघि बढाइसकेको छ।
सम्भवतः अर्को हप्तासम्म सरकार विधिवत प्रक्रियामा जान्छ’, स्रोतले भन्यो, ‘मन्त्रालयले खरेललाई स्पष्टीकरण सोध्नका लागि पत्र तयार पारिसकेको छ। त्यसलगत्तै खरेलले राजिनामा दिए नयाँ नेतृत्वका लागि प्रक्रिया अघि बढाउने छ। यदि खरेलले राजिनामा निदए मन्त्रीपरिषद्बाट बर्खास्त गर्छ।’