भारतीय लगानीमा निर्माणधिन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको २४ प्रतिशत निर्माण सम्पन्न भएको छ । प्रवर्द्धक सतलजल जलविद्युत् निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण धिमानले ऊर्जा सम्मेलनको प्रोजेक्ट सो केस सेसनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै पछिल्लो समय आयोजनाको निर्माण तिव्र गतिमा भइरहेको बताए ।
‘अहिले अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य तिव्र गतिमा भइरहेको छ,’ उनले भने ‘अहिलेकै गतिमा निर्माण भएको खण्डमा लक्ष्य सहजै सहजै भेटाउनेछौं।यो आयोजना भारत र नेपाल दूबैको लागि अति महत्ववपूर्ण भएकाले पनि तोकिएको समयसीमाभित्रै निर्माण सम्पन्न गर्नेछौं ।’
कार्यकारी अधिकृत धिमानले तोकिएको समयमा नै सम्पन्न गरेर अन्य आयोजनाको लागि मार्गदर्शक बन्ने योजनामा रहेको सुनाए ।
‘नेपालको हालसम्मकै ठूलो आयोजना निर्माण गर्न लागेका हौं । त्यसैले व्यवस्थित ढंगले निर्माण सम्पन्न गरेर उदाहरणीय बन्न चाहेका छौं’ उनले भने ।
सतलजल जलविद्युत्ले सन् २०२३ सम्म पाँच हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित विभिन्न जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ ।
आयोजना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाखमा स्विच थिचेर शिलान्यास गरेका थिए । सतलज कम्पनीमा भारतीय केन्द्रीय सरकारको ६४.४६ प्रतिशत सेयर छ । जसमा हिमाञ्चल प्रदेशको २५ .५१ प्रतिशत र बाँकी सर्वधारणको सेयर छ । कम्पनीले नै संखुवासभामा रहेको आयोजनास्थलदेखि ढल्केबर सवस्टेसनसम्म ४ सय केभीको प्रसारणलाइन निर्माण गर्नेछ । २२५ मेगावाट क्षमताको चार वटा युनिटबाट ९ सय मेगावट बिजुली उत्पादन गरिनेछ ।
माथिल्लो कर्णाली जलविद्युतको केही समयभित्रै पीपीए हुने
जिएमआरका चिफ अपरेटिङ अफिसर हरविन्दर मोनोचाले बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५ सय मेगावाट जलविद्युत् खरिद गर्ने सहमति भएको बताएका छन् । राजधानीमा जारी ऊर्जा सम्मेलनमा शुक्रबार जीएमआर कम्पनीको प्रस्तुती दिदै उनले उक्त कुरा बताएका हुन् ।
‘बंगलादेशको क्याविनेट बैंठकले जिएमआरले उत्पादन गरेको बिजुलीको पीपीए दर निर्धारण गर्ने सहमति दिइसकेको छ ,’उनले भने,‘अब बंगलादेशको पर्चेज कमिटिले आवश्यक निर्णय गरेसँगै पीपीए गर्ने बाटो खुल्नेछ ।’
जीएमआरका मोनोचाले अबको केही समयभित्रै बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय एनभिभिएनसँग विद्युत् खरिद–बिक्री सम्झौता हुने बताए । कम्पनीले आगामी आर्थिक वर्षदेखि ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण थाल्ने जनाएको छ । कम्पनीले माथिल्लो कर्णालीबाट उत्पादन हुनेमध्ये पाँच सय मेगावाट बिजुली बंगलादेश र २९२ मेगावाट भारतीय एनभिभिएनलाई बिक्री गर्नेछ । बाँकी एक सय आठ मेगावाट नेपाल सरकारलाई निःशुल्क उपलब्ध गराउनेछ । जिएमआरले आयोजनाको २७ प्रतिशत सेयर नेपाल विद्युत् प्राधिकरणलाई दिनेछ ।
सञ्चालनमा आएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । आयोजनाका अनुसार चालु आर्थिक वर्ष्भित्र पीपीए र साइट क्लियर लगायत काम सकेर सन् २०२० को अन्त्यदेखि निर्माण थाल्ने जनाएको छ ।
सन् २०१४ मा पीडीए सम्झौता भएको थियो । आयोजनाबाट उत्पादित बिजुली ४०० केभीको ९९ किलोमिटर डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गरेर भारत तथा बंगलादेश निर्यात गरिनेछ । इप्पानका कोषाध्यक्ष आनन्द चौधरीले कार्यक्रमको मोडरेट गर्दै नेपालमा जलविद्युत् क्षेत्रमा पर्याप्त सम्भावना भएकाले विदेशी कम्पनीले ढुक्क भएर लगानी गर्नुपर्ने बताएका थिए । कन्फेडेरेसन अफ नेपलिज इन्डष्ट्रिजका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको नवीकरण ऊर्जामा ढुक्क भएर लगानी गर्न अनुरोध गरेका थिए ।